सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो ।
यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेका छन् । त्यस्तै अभिनेत्री करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन् । यसै फिल्ममार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।
सहकार्यको हिसाबले दीपिका, प्रशान्त र दिवाकरको फिल्म ‘ऐश्वर्य’पछि ‘मायावी’ दोस्रो फिल्म हुनेछ । यही फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो ।
फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।
दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।
प्रतिक्रिया