सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक दिपेन्द्र के खनाल निर्देशित बहुप्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को सोमबार साँझ पशुपतिमा क्षमा पूजा गरिएको छ । फिल्मको निर्माण टिमले आयोजना गरेको क्षमा पूजा कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक खनाल, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शंकर पाण्डे सहभागी थिए ।

लेखक तथा निर्माता लामिछानेले फिल्मको पशुपति क्षेत्रमा करिब ६५ दिन छायांकनका क्रममा केही गल्ती कमजोरी भएको खण्डमा माफी पाउँ भनी क्षमा पूजा गरिएको बताए । मान्छेबाट जान अन्जानमा गल्ती हुने भएकाले यदी त्यसो भएको भए भोलीमा दिनमा कुनै क्षती नहोस भनेर क्षमा पूजा गर्ने चलन रहेको उनको भनाई छ ।

फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले आफुले कुनै फिल्मको लागि क्षमा पूजा गरेको पहिलो अनुभव भएको बताइन् । कहिले काहीँ नयाँ अनुभव गर्नुको मज्जा बेग्लै हुने बुझाई उनको छ । उनले भनिन्- ‘मैले आजसम्म धेरै फिल्ममा काम गरेको छु धेरै मन्दिरमा छायांकन गरेकी छु । तर, यो आफ्नो पहिलो पटक भएकाले पनि नौलो र अगल महसुस गरेकी हुँ ।’

फिल्ममा स्वस्तिमा खड्काका अलवा विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । फिल्मलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com