सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘पच्चीस पच्चीस’को कलाकारको लाइनअप पूरा भएको छ। गत साउनमा औपचारिक निर्माण घोषणा गरिएको फिल्म अब छिट्टै छायांकनमा जाने तयारीमा छ।

फिल्ममा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा अर्थात् ‘भक्ते भाइ’, सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ। दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर ‘भक्ते भाइ’ले यही फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन्।

सामाजिक-कमेडी विधामा निर्माण हुने फिल्मले मनोरञ्जनसँगै उत्कृष्ट सामाजिक कथा प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ। निर्देशक सुब्रत आचार्यले फिल्म नेपाली माटो सुहाउँदो हुने बताएका छन्।

सुब्रत आचार्यको निर्देशनमा बन्न लागेको यो तेस्रो फिल्म हो। उनले यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका छन्। फिल्मको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्। फिल्मको छायांकन निर्देशन हरि हुमागाईंले गर्नेछन्।

फिल्मका निर्माता कर्ण कार्की हुन्। गत वर्ष ‘होस्टेल ३’ मार्फत फिल्म निर्माणमा प्रवेश गरेका कार्कीको यो दोस्रो फिल्म हो। दीपेन्द्र गौतम कार्यकारी निर्माता रहेको फिल्ममा धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सहनिर्माताका रूपमा छन्। त्यस्तै, सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com