सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी फिल्म ‘पूजार सार्की’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै फिल्म युनिट मङ्गलवारदेखि हुने छायाङ्कनको लागि आइतबार कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ हिँडेको छ ।

फिल्मका निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेका छन् । पुरानो ‘टेक्स्चर’मा तयार पारिएको पोस्टरमा अभिनेता त्रय आर्यन, प्रदीप र पललाई राखिएको छ । यी अभिनेताहरू आ-आफ्नो चरित्रमा देखिएका छन् । पोस्टरको डिजाइनबाट फिल्मको कथा अहिलेको नभई निकै वर्ष अघिको रहेको अनुमान लगाउन सकिन्छ । पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् ।

यस फिल्ममा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि फिल्म ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको अभिनय रहनेछ ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ फिल्ममा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पूजार सार्की’ चर्चामा रहँदै आएको छ । यो फिल्मले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल फिल्मका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । उनले यस फिल्मलाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् । यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

फिल्मलाई सङ्गीतकार सुबास भुसालले निर्माण गर्दैछन् । एक दर्जन फिल्ममा सङ्गीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् । भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको फिल्म ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै फिल्म ‘सेल्फी किङ्ग’मा समावेश थियो । यस फिल्ममा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।

‘पूजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पूजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com