सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी वर्ष २०८१ मा रिलिज हुने मेगा प्रोजेक्ट फिल्म ‘बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ। फिल्मका निर्देशक सन्तोष सेनले फिल्मको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच काम सुरु भएको बताएका छन्।

नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग फिल्मको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व बजारमा देखाउनुपर्ने भएकाले व्यापक तयारीको आवश्यक रहेको सेनले बताए। सो तयारीका लागि पूर्वी नेपालको इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ। सो स्टुडियोको उद्घाटन नै बलिदानबाट हुँदै छ।

यो कार्यलाई निर्देशक सेनले ‘बलिदानको महत्त्वपूर्ण प्रकरण’ भनेका छन्। “बलिदानका विभिन्न प्रकरणहरू छिचोल्दै अघि बढ्ने यात्रामा छौँ। अबको प्रकरण बलिदानको कथा संसारमा आउने देश काल, परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौती हो। लामो मेहनत, त्याग र तपस्याले सिर्जेको बलिदानको संसारलाई नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग जोड्नुपर्ने छ र विश्व बजारमा देखाउनुपर्ने छ” सेनले भने, “फिल्म निर्माणको उचाइ बढाउन यो बिएमसी स्टुडियोको ठुलो भूमिका हुनेछ।”

‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दै छन्। समीर नेपाली फिल्ममा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन्। उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।

सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ। सम्भवतः नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक प्री-प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर फिल्म रहने निर्देशक सेनले बताएका छन्। फिल्मलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com