सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित निर्देशक मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ को मुख्य भूमिकामा रहेकी अभिनेत्री थिन्ले ल्हामोले स्विट्जरल्यान्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डीओर’ अवार्ड जितेकी छन् ।
प्रतिष्ठित र पुरानो फिल्म फेस्टिभल मानिने लोकार्नोमा थिन्लेले जितेको उक्त अवार्ड दक्षिण एसियाली कलाकारमा नै पहिलो रहेको भन्दै ‘साम्बाला’ युनिटले जितलाई ऐतिहासिक सफलताका रूपमा हेरेका छन्  । ‘चलचित्रको मुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेकामा हामी निकै रोमाञ्चित र गौरवान्वित भएका छौं,’ फिल्म निर्माण पक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता पाएका हुन् ।’

लोकार्नो फिल्म फेस्टिभलको मुख्य विधामा नै प्रतिस्पर्धाका लागि छनोट हुने पहिलो नेपाली बनेको ‘साम्बाला’ डोल्पाको झन्डै ६ हजार मिटर उचाइमा खिचिएको छ । भामकै सर्टफिल्म ‘बासुल्ली’ यसअघि भेनिस फिल्म फेस्टिभलमा पुग्ने पहिलो नेपालीचलचित्र  बनेको थियो भने उनैद्वारा निर्देशित चलचित्र ‘कालोपोथी’ ले भेनिस क्रिटिक्स विकमा ‘फेडेरा बेस्ट फिल्म अवार्ड’ जितेको थियो ।

‘साम्बाला’ मा थिन्लेले बहुपति प्रथाअनुसार विवाह गरेकी एक डोल्पाली महिला पेमाको भूमिका निर्वाह गरेकी छन् ।चलचित्रमा हिमाली क्षेत्रको संघर्षपूर्ण जीवनयापन अन्त्य गर्दै जीवनमा नयाँ खोज र स्वतन्त्रताका लागि पेमाले गरेको जोखिमयुक्त यात्रालाई थिन्लेले अभिनयमार्फत जीवन्त पारेकी छन् । थिन्लेसहित चलचित्रमा सोनाम तोप्देन, तेन्जिङ दल्हा, कर्मा शाक्य, कर्मा वाङग्याल गुरुङ, लोतेन नाम्लिङ, जंगबहादुर लामा, छिरिङ ल्हामो गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको पटकथा निर्देशक भाम र  अविनाशविक्रम शाहसँग मिलेर लेखेका हुन् भने संगीत न्ह्यु बज्राचार्यले भरेका छन्

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com