सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कलाकार प्रकाश शाह फिल्म ‘साङ्लो’ पछि यही भदौ २१ गतेबाट रिलिज हुने चलचित्र  ‘रावायण’मा देखिँदैछन् । चलचित्रमा उनी तराई मूलका ‘काल्का’ चरित्रमा छन् ।

सुदर्शन करियरकै केही फरक चलचित्र बनाउन चाहन्थे, प्रकाश पनि फरक चरित्र निभाउन चाहन्थे । सुदर्शनले प्रकाशलाई उनको चरित्र सुनाउँदा उनी छक्क परे । ‘फरक चरित्र निभाउने मेरो चाहना रावायणको कथा सुनेपछि पुरा हुनेमा म ढुक्क भएँ । किनकी सुदर्शन दाईले मेरो चरित्र सुनाउँदा यो चरित्रलाई दर्शकले पछिसम्म सम्झिरहन्छन् भन्ने मलाई थाहा थियो’, प्रकाश भन्छन् ।

प्रकाशका अनुसार ‘काल्का’ चरित्र कालको पनि काल हो । ‘मलाई प्रमोद अग्रहरी दाईको ‘आलम’ चरित्रका लागि कुरा गरिएको थियो । तर स्क्रिप्ट पढेपछि म ‘काल्का’मा लोभिएँ । किनकी यो चरित्र जति शक्तिशाली छ, त्यो चरित्र निभाउन त्यति नै चुनौतीपूर्ण पनि थियो’ प्रकाश भन्छन् ।

प्रकाश कैलाली, टीकापुरका हुन् । तर चलचित्रमा उनले वीरगञ्जमा बस्ने भोजपुरी देहाती चरित्र निभाएका छन् । चरित्रका लागि उनले गरेको मेहनत पनि कम छैन । ‘म पश्चिमको ठकुरी, तर फिल्मको क्यारेक्टर चाहिँ टिपिकल भोजपुरी देहाती छ । सुदर्शन दाईसँग सहकार्यको कुराकानी पछि चरित्रकै लागि काठमाडौंबाट वीरगञ्ज गइहालें । मलाई देहातीबारे केही थाहा थिएन, पश्चिमको चौधरी बारेमा मात्र आइडिया थियो । म वीरगञ्जमा १० दिन बसें । त्यो बसाईमा देहातीले कस्तो लुगा लगाउँछ, कसरी बोल्छ भन्ने बुझें’, प्रकाश सम्झन्छन् । प्रकाशका अनुसार वीरगञ्ज बसाईंका क्रममा त्यस क्षेत्रमा १०–१० किलोमिटरको फरकका गाउँमा पनि फरक फरक भाषा हुँदो रहेछ भन्ने थाहा पाए । त्यसपछि उनी थप भाषा बुझ्न परासी निस्किए ।

चलचित्रमा प्रकाशको लुक्स टिजर र ट्रेलरमा प्रष्ट देखिएको छ । तर यो लुक्स निकाल्न उनको मेहनत कम छैन । ‘क्यारेक्टरकै लागि तीन महिनासम्म दारी जुँगा र कपाल काटिनँ । कपाल पनि स्थानीय देहातीकै जस्तो बनाएँ । मैले मुख धुने, नुहाउने काम गरिनँ । म जतिसक्दो फोहोरी देखिन चाहन्थें । मैले केही न केही देखाउनुपर्छ, यो मेरो लागि पनि राम्रो हो भन्ने थियो । मेरो जीवन र करियरमा यो क्यारेक्टरले अभिनेताका रुपमा स्थापित गराउँछ भन्नेमा म ढुक्क थिएँ’, प्रकाश भन्छन् ।

प्रकाशले देहातीले के गर्छन् भन्ने बुझ्न स्थानीय वास्तविक मान्छेसँग घुलमिल हुने प्रयास गरे । भलै उनले आफूलाई कलाकारको रुपमा चिनाएनन् । ‘आफ्नै हिसाबले चिया खान जाने, उनीहरुको बोलीचाली बुझ्ने, हिँड्ने शैली हेर्थें । अनि राती होटलमा आउँथे । उनीहरुको बोली कमाण्डिङ शैलीको हुँदो रहेछ । त्यहाँ सबैको नेचर त्यस्तै देखें’ उनी भन्छन् ।

प्रकाशले चलचित्रमा युवा र बढी उमेरको चरित्र निभाएका छन् । तर त्यो चरित्र दोहोरो भने होइन । ‘मलाई दर्शकले दुई फेजमा देख्न सक्नुहुन्छ, एउटा युवा र अर्को बुढो उमेरको । युवावस्थामा हुँदा त्यो एरियामा मेरो वर्चस्व नै हुन्छ, भनौं न जंगलको राजा जस्तै । समयसँगै ऊ शक्तिबिहिन हुँदै जाँदा भैसीपालन तिर लाग्छ । कान्छाको आगमन भइसकेपछि ऊ पुनः पुरानै काममा फर्कन्छ’, प्रकाश खुल्छन् ।

चलचित्रमा उनको र निकिता चण्डकको एक आइटम गीत छ । प्रकाशका अनुसार ‘काल्का’ चरित्र नाँचगानमा पनि उत्तिकै रमाउँछ । ‘त्यो आइटम गीतको सुटिङ हेर्न आएका स्थानीयहरु मलाई देखेर भाग्थे । मेरो लुक्स देखेर बच्चाहरु तर्सिन्थे । त्यो चाहिँ मेरो लागि एकदमै खुशीको क्षण थियो । मैले कुन तहको काम गरेको रहेछु भन्ने अनुभव हुन्थ्यो’, उनी भन्छन् ।

चलचित्रको टिजर हेरेपछि अभिनेता तथा निर्देशक विराज भट्टले उनको कामको तारिफ गरेको सम्झँदा प्रकाश निकै खुशी छन् । ‘विराज दाईले ‘तैले एकदमै बबाल काम गरेको रैछस् । तैले राम्रो गर्छस् भन्ने थाहा थियो, तर यस्तो नसोचेको काम गर्छस् भन्ने चाहिँ लागेको थिएन’ भनेको अझै सम्झन्छु’, प्रकाश भन्छन् ।

प्रकाशलाई ‘काल्का’ चरित्रबाट बाहिर निस्कन उत्तिकै गाह्रो भएको रहेछ । ‘चलचित्रको काम सकेपछि क्यारेक्टरबाट बाहिर निस्कन निकै समय लाग्यो । मैले हातले मुसेर खाना खान पाएको थिइनँ । चम्चीले मात्र खाएको थिएँ । सुटिङ सकेर काठमाडौं आएपछि सुदर्शन दाईलाई ‘मेरो अझै कहीँ कतै बाँकी छ कि’ भनेर सोधें । किनकी तराईको ४४ डिग्रीसम्मको गर्मी, त्यसमाथि म नुहाउन पनि पाएको थिइनँ । म पुरै बिरामी भएको थिएँ । म तराईमा जन्मिए पनि त्यतिको तातो र गर्मी अनुभव मैले गरेको थिइनँ’, उनी भन्छन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com