सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘गौँथली’ले प्रदर्शनको ७५ दिन पूरा गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म असोज १५ गतेदेखि ७६औँ दिनमा प्रवेश गरेको हो। निर्माता सुमन गिरीका अनुसार फिल्मले हालसम्म २६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिसम्म फिल्मका ९ लाख ४३ हजार ९ सय ९५ वटा टिकट बिक्री भएका छन्।

गत सोमबार फिल्म विकास बोर्डको सिनेपाः विवरणअनुसार असोज ११ गतेसम्म ‘गौंथली’ले २६ करोड १ लाख ३८ हजार ३ सय ४० रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यसपछि केही दिनमा थप कमाइ गर्दै फिल्मले २६ करोडको आँकडा पार गरेको निर्माणपक्षले जनाएको छ।

‘गौँथली’ नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा रहेको छ। डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारको अभिनय रहेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com