सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी बडादशैँ अर्थात् असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’को अन्तिम छायाङ्कनका लागि हङकङ पुगेको मुख्य टिमलाई त्यहाँ भव्य सम्मान गरिएको छ ।

हङकङमा सक्रिय इभेन्ट व्यवस्थापन संस्था खुसी इभेन्टस्ले आयोजना गरेको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा फिल्मका निर्देशक चन्द्र पन्त, अभिनेता पल शाह र अभिनेत्री रिश्ता गुरुङलाई सम्मान गरिएको हो ।

गुरुङ संस्कृति तथा परम्पराअनुसार अतिथिहरूलाई फेटा गुथाएर, खादा, पुष्पगुच्छा तथा मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो। हङकङमा फिल्मको सम्पूर्ण छायाङ्कन व्यवस्थापन तथा लाइन प्रोडक्सनको जिम्मेवारी सम्हालिरहेको खुसी इभेन्टस्की निर्देशक खुसी गुरुङले नेपाली फिल्मका स्थापित निर्देशक तथा लोकप्रिय कलाकारलाई स्वागत र सम्मान गर्न पाउँदा गर्व लागेको बताइन्। उनले आगामी दिनमा पनि प्रवासमा हुने नेपाली फिल्मका छायाङ्कन तथा अन्तर्राष्ट्रिय प्रदर्शनमा निरन्तर सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सम्मान ग्रहण गर्दै अभिनेता पल शाहले प्रवासमा रहेर पनि नेपाली फिल्म, भाषा र मौलिक संस्कृतिप्रति देखाइएको माया र समर्पणले आफूलाई भावुक तथा उत्साहित बनाएको बताए।

‘हङकङमा बसेर नेपाली फिल्म, भाषा र संस्कृतिलाई यसरी माया गर्नु, आत्मसात् गर्नु र हामीलाई सम्मान दिनुले निकै ठूलो हौसला मिलेको छ। यहाँ मेरा फिल्महरू सधैँ ऊर्जाका साथ चल्ने गरेका छन्। हङकङवासी दर्शकको यही आत्मीय साथले मलाई अभिनय यात्रामा अझ उत्कृष्ट काम गर्न थप बल र प्रेरणा दिएको छ,’ उनले भने।

समारोहमा निर्देशक चन्द्र पन्तले छायाङ्कनको व्यस्त तालिकाबीच प्रवासमा प्राप्त आत्मीय सम्मानका लागि खुसी इभेन्टस् तथा हङकङवासी दर्शकप्रति आभार व्यक्त गरे।

पन्तले फिल्मका प्रचार सामग्रीले युट्युब तथा सामाजिक सञ्जालमा पाएको प्रतिक्रियाप्रति पनि खुसी व्यक्त गरे। फिल्मको आधिकारिक टिजर र पहिलो रोमान्टिक गीत ‘अचेल किन कान्छी’ले युट्युबमा ५० लाखभन्दा बढी भ्युज प्राप्त गरेको निर्माणपक्षले जनाएको छ। सार्वजनिक पोस्टरले समेत सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएको निर्देशक पन्तको भनाइ छ।

‘हाम्रा दुवै प्रचार सामग्री—टिजर र गीतले ५० लाखभन्दा बढी भ्युज पाउनु तथा पोस्टरले सामाजिक सञ्जालमा अत्यधिक सेयर र उत्साहजनक कमेन्ट बटुल्नु हाम्रा लागि ठूलो उपलब्धि हो। दर्शकहरूले देखाउनुभएको यो विश्वास र मायाले मलाई र मेरो सम्पूर्ण टिमलाई थप ऊर्जा, हौसला र दर्शकप्रति ठूलो जिम्मेवारीबोध गराएको छ,’ पन्तले भने।

आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘आ बाट आमा २’को हङकङ सेड्युल सम्पन्न गरेर टिम छिट्टै नेपाल फर्किने तयारीमा छ। नेपाल फर्किएपछि फिल्मको अन्तिम पोस्ट–प्रोडक्सनको काम पूरा गरिने निर्माणपक्षले जनाएको छ।

पारिवारिक विछोड र आमाप्रतिको अगाध प्रेमको कथा प्रस्तुत गर्ने फिल्म ‘आ बाट आमा २’ आगामी २०८३ असोज ३० गते अर्थात् बडादशैँदेखि देशभरका फिल्म हलमा प्रदर्शन हुँदैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com