सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्रमा पाइला चाल्नुअघि अभिनेत्री पुजा शर्मा सञ्चारकर्ममा थिइन् । एक टेलिभिजनमा काम गरिरहँदा चलचित्र ‘थ्री लभर्स’बाट अभिनयमा ‘ब्रेक’ पाएपछि टेलिभिजन कर्ममा ‘ब्रेक’ लगाउँदै अभिनयको दुनियाँमा रमाइरहिन् । यिनै पुजा सञ्चारकर्मीकै भूमिकामा फिल्म ‘रावायण’मा देखिँदैछिन् । यो चलचित्र यसै साता अर्थात भदौ २१ गते रिलिज हुँदैछ ।

चलचित्रको टिजर र ट्रेलरमा पुजालाई हातमा बुम बोकेर टेलिभिजनमा रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ । ‘पत्रकारितामा करिब १०–१२ वर्षकै ग्याप थियो । पहिला एउटा फ्लोमा पत्रकारिता गर्थें । चलचित्रमा पत्रकारको भूमिकामा अभिनय गर्दा अलिक कन्सस भएँ । अभिनयमा ‘स्ट्रङ’ तरिकाले प्रस्तुती दिँदा पुरानो सम्झना आउँदो रहेछ । त्यतिबेला ‘अहो बिर्सेछु यार’ भन्ने फिलिङ आउँदो रहेछ’, चलचित्रकी ‘वैभवी’ पात्र पुजा भन्छिन् ।

कुनै समय पत्रकारितामा रमाएकी पुजाले ‘रावायण’मा पत्रकार भूमिकामा देखिन केही अध्ययन पनि गरिन् । ‘यो चलचित्र मैले अहिलेसम्म गरिरहेको फिल्मभन्दा फरक थियो । त्यही भएर अलिक ‘स्ट्रङ’ खालको भूमिका भइसकेपछि बोलीचाली र लुक्समा ध्यान दिएको थिएँ । चरित्रकै लागि नियमित समाचार हेर्थे, को कसरी बोल्छ हेर्थे । कतिपय अवस्थामा युट्युबमा पनि खोज्थें’, पुजाले चरित्रको तयारी सम्झिइन् ।

पुजा आफ्नै कारणले ‘रावायण’को कथा अघि बढेको बताउँछिन् । ‘रावायणमा जे जति घटना भइरहेका हुन्छन्, ती सबैको कारण मै हुँ । चलचित्रमा हामीले एसिड आक्रमणदेखि लिएर देशमा मानिसहरुले कसरी शक्ति दुरुपयोग गरिरहेका छन् भन्ने कुरालाई देखाएका छौं’, पुजा भन्छिन् ।

पुजाको भनाईमा उनलाई ‘उत्कृष्ट मेकर’ बन्नु छ । त्यो प्रयासमा आफूलाई ‘रावायण’ले सफल बनाउने उनको बुझाई छ । ‘रावायणबाट म कलाकार भन्दा पनि मेकरका रुपमा स्थापित हुने प्रयासमा छु । म बेस्ट मेकर भएर आउँ, त्यसकै लागि दर्शकलाई ‘रावायण’ दिँदैछु । दर्शकलाई पनि पुजा शर्माले ल्याउँदा यस्तो फिल्म राम्रो रहेछ है भन्ने अनुभव होस् । म यसपटक मेकरका रुपमा मात्र फोकस छु’, पुजाको दाबी छ ।

पुजा आफूलाई ‘नम्बर वान’को ट्यागले पुगिसकेको बताउँछिन् । उनकै भनाईमा उनलाई अब पुजा शर्मा भनेर चिन्नकै लागि कुदिरहनु पर्दैन । ‘अब म मेकरको हिसाबले कुदिरहेकी छु । अभिनय र गर्नुपर्ने काम त गरिरहेको छु । तर मेरो बेस्ट फिल्म कसरी बनाउने, कसरी भन्नेमा केन्द्रीत छु’, पुजा खुल्छिन् ।

चलचित्र ‘रावायण’ नायिकासँगै निर्माता बन्दा पुजामाथि दोहोरो दबाब छ । त्यहीकारण उनले आगामी चलचित्रमा उनी एउटा मात्र विधा रोज्ने योजनामा छिन् । ‘कलाकार र निर्माता हुँदा दोहोरो दबाब हुँदो रहेछ । अब अर्को पटक कि म कलाकार हुन्छु कि मेकर । किनभने कलाकार र निर्माता दुवैको जिम्मेवारी लिइरहँदा चलचित्रको सेटमा म अभिनय गरिरहेकी छु, तर के भयो, कसो भयो भन्ने अर्को चिन्ता ममाथि थपिइरहेको हुन्छ । ‘रावायण’ले मलाई त्यो एउटा पाठ सिकायो’, पुजाको भनाई छ ।

यो चलचित्रमा पुजाको अपोजिटमा नायक पल शाह छन् । पुजालाई पलसँग सहकार्य गर्न पाउँदा निकै सहज लाग्दो रहेछ । ‘पलमा कलाकारमा हुनुपर्ने हरेक चिज, गुण पाएकी छु । कोही कलाकार काममा चुजी भइदियो भने त्यसको असर अन्य कलाकारदेखि प्राविधिकसम्मलाई पर्छ । तर, पल सबै कुरामा सहज छ । त्यसकारणले पनि अन्य कलाकारदेखि प्राविधिकलाई काम गर्न सजिलो भयो’, पुजा भन्छिन् ।

पुजा ‘रावायण’ नायक पलका लागि ‘कमव्याक’ फिल्म मान्छिन् । ‘उसले अगाडि अभिनय गरेको फिल्ममा धेरै कलाकार थिए । तर यो फिल्म चाहिँ उसका लागि कमव्याक नै हो’, पुजा दाबी गर्छिन्, ‘यो चलचित्रमा उसले सायदै त अन्य चलचित्रमा नगरेको मेहनत यसमा गरेको छ । सुटिङ सेटमा पललाई हेर्न दुई तीन सय सर्वसाधारण आउँथे । उनीहरु सबैलाई समय दिन्थ्यो । सुटिङमा पनि उत्तिकै ध्यान दिने गथ्र्यो । मलाई लाग्छ पलले जीवनमा सबैभन्दा बढी दुःख गरेको चलचित्र नै यही हो ।’

 

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com