सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘होस्टेल ३’ को प्रमुख छायाङ्कन ४९ दिनमा शुक्रवार सकिएको छ । तर, केही कलाकारहरूको ‘बडी ट्रान्सफर्मेसन’ (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको फुटकर छायाङ्कन बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिएका छन् ।

हाल चलचित्र पोस्ट-प्रोडक्सनको चरणमा रहेको छ । यसअघि फागुन १६ गते रिलिज हुने भनिएता पनि सो मितिमा रिलिज नहुने भएपछि चलचित्रको नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जानकारी पनि निर्माण टिमले दिएको छ ।

‘होस्टेल ३’ चलचित्र ‘होस्टेल’ शृङ्खलाको एक प्रतीक्षित चलचित्र हो । यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ । यसको तेस्रो शृङ्खला पनि नयाँ कलाकारहरूका लागि नेपाली चलचित्र उद्योगमा प्रवेश गर्ने एउटा महत्त्वपूर्ण चलचित्र बन्ने विश्वास लिइएको छ । यसमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘होस्टेल’ शृङ्खलाबाट उदय हुनेहरूमा अनमोल केसी, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, सुशील सिटौला लगायत पर्छन् ।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक कँडेलकै हो । चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर, शङ्कर कोइराला कार्यकारी निर्माता, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सह-निर्माता हुन् ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com