सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लाज शरणम्’ ले दर्शक तथा प्रशंसकका लागि एउटा नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’ को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत चलचित्रको शिर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।
निर्माण पक्षका अनुसार सहभागीहरुले लोक पपसँगै आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर तथा भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनु पर्नेछ । प्रतियोगितामा सहभागिताका लागि यी पाँच विधामध्ये कुनै पनि विधा छान्न सकिने बताइएको छ । सहभागीहरुले ‘लाज शरणम्’ टीमको इमेल [email protected] मा पठाउनु पर्नेछ ।
प्रतियोगिहरुले तयार पारेका भिडियोहरु ‘लाज शरणम्’ को आधिकारिक टिकटक अकाउन्टमा अपलोड गरिने छ । निर्माण टिमले भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी विजेतालाई आकर्षक पुरस्कार प्रदान गर्ने जनाएको छ । यो प्रतियोगिता माघ १ गतेदेखि १५ गते राति १२ बजेसम्म खुला रहने छ ।
‘लाज शरणम्’ ले केही समयअघि सार्वजनिक गरेका तीन वटा पोस्टरमार्फत आफ्नो कथाको झलक देखाएको थियो । चलचित्रले अन्य सामाग्री नआउँदै चर्चा पाएको छ, जसले अब आउने टीजर तथा ट्रेलर लगायताका सामाग्रीलाई प्रतीक्षित बनाएको छ ।
वर्षकै प्रतिक्षित मध्उे एक मानिएको ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ । चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ ले गरेका हुन् । चलचित्रमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन् ।
चलचित्रका नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सुदीप बरालले छायांकन गरेको चलचित्र ‘लाज शरणम्’ ले मनोरञ्जनसँगै सामाजिक र गम्भीर सन्देश दिने संकेत गरेको छ ।
प्रतिक्रिया