सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा चलचित्र केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ ।

गत साता सार्वजनिक भएको ट्रेलरले व्यापक चर्चा पाएको छ । ट्रेलरले पाएको यो लोकप्रियतासँगै चलचित्रको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ । यस्तै, पुरै युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर्ससँगको सहकार्यमा रिलिज गर्दैछ । अस्ट्रेलिया र न्यूजिल्यान्डमा गिरीश इभेन्ट एन्ड इन्टरटेनमेन्ट र इस्सा भाइव इभेन्टले रिलिज गर्दैछन् भने जापानमा सचिन आचार्यले विभिन्न कम्पनीहरूको सहकार्यमा रिलिज गर्दैछन् ।

जापान र अमेरिका रिलिजको लागि चलचित्रका अभिनेता प्रदिप खड्का आफैँ जाने भएका छन् । नेपाल रिलिज पछि उनी त्यसतर्फ लाग्नेछन् । मध्यपूर्वका देशहरूमा पनि रिलिजको तयारीको अन्तिम चरणमा रहेको निर्माता थमन कुमार भण्डारीले बताए । यसैबीच, ‘एक्टर: टेक वन’को ट्रेलरले नेपाली चलचित्र उद्योगमा ऐतिहासिक सफलता हात पारेको छ ।

हालै सार्वजनिक भएको ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको चलचित्र युनिटले कलाकार हुन चाहने नयाँ र प्रतिभावान् व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । हालसम्म ट्रेलरलाई ३० लाख भन्दा धेरैले युट्युबमा हेरेका छन् भने नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com