सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘प्रतिवैरम्’को पहिलो गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा गीत सार्वजनिक गरिएको हो।

रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको नेपाली संस्करणको गीतमा गहृतिका श्रेष्ठले स्वर दिएकी छन्। हिन्दी संस्करणको शीर्षक ‘जवानी कातिल’ राखिएको छ। उक्त संस्करणमा शिवानी भगतको स्वर तथा लभ कर्णको शब्द रहेको छ।

त्यस्तै, मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक गरिएको छ। गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले आकर्षक नृत्य प्रस्तुत गरेकी छन्। उनलाई भिडियोमा ‘वसन्ती’को भूमिकामा प्रस्तुत गरिएको छ।

रेज इन्टरटेनमेन्टले आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेन्टमेन्टसँगको सहकार्यमा निर्माण गरेको फिल्मलाई रोशन दासले निर्देशन गरेका हुन्। यो उनको डेब्यू निर्देशन हो। फिल्ममा सम्राट दास, वीरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण विक, आशिष डिके र रमेश बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ।

हर्ष कुमार यादव र सत्यराज चौलागाईं निर्माता रहेको फिल्ममा कृष्ण बर्देवाको छायांकन, कबीर ओडको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी, मनीष अधिकारीको संगीत, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन तथा समीर मियाँको भिएफएक्स रहेको छ। फिल्मको कथा निर्देशक दास स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद युवराज भट्टराईले तयार पारेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com