सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र क्षेत्रको अन्तराष्ट्रियकरण, बजार प्रवर्धन तथा सम्भावना र अवसरको खोजिसँगै चलचित्र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२५ को औपचारिक घोषणा गरिएको छ । मंगलवार कुपण्डोलस्थित हिमालय होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था संवाद फाउण्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीहरुको उपस्थितिमा उक्त महोत्सवको घोषणा गरेको हो ।
आयोजक संस्थाले जनाए अनुसार नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, युवा चलचित्रकर्मीहरुलाई उत्प्रेरित गर्ने तथा सांस्कृतिक विविधताको प्रवर्द्धन गर्ने अभिप्रायले यो महोत्सव आयोजना गर्न लागिएको हो । ‘स्टोरीज बियोण्ड बोर्डर्सः ह्वेर कल्चर मीट्स सिनेमा’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवले नेपाललाई अन्तराष्ट्रिय चलचित्र मञ्चमा स्थापित गर्ने अभियान स्वरुप अघि बढेको आयोजक संस्थाको भनाइ छ । महोत्सवमा इन्टरनेशनल पानोरमा, नेपाली पानोरमा, स्टेडेन्ट पानोरमाजस्ता विशेष श्रेणीहरुमा फिल्महरु प्रदर्शन हुनेछन् ।
महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरूले आवेदन दिएका छन् भने नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी नै छ । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८१ यही फागुन १६ देखि २० सम्म जनकपुरको मैथिली भवनमा आयोजना हुनेछ । नेपालमा चलचित्रको महत्त्व बुझाउनुः महोत्सवको उद्देश्य नेपाली समाजमा चलचित्रको कला र महत्त्व बुझाउनु रहेको छ। यसले दर्शकलाई चलचित्र र कथाका बारेमा सोच्न र छलफल गर्न प्रेरित गर्छ। नेपाली चलचित्रलाई विश्वभर प्रस्तुत गर्नुः महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने प्रयास गर्दछ जसले नेपाली सिनेमा को अन्तर्राष्ट्रियकरण, बजार प्रवर्धनमा सघाउने विश्वास छ ।
चलचित्र साक्षरताको प्रवर्धन गर्नुः विभिन्न चलचित्रहरू प्रदर्शन गरेर र कार्यशाला र मास्टर क्लासहरू आयोजना गरेर, महोत्सवले चलचित्रलाई एक शक्तिशाली माध्यमको रूपमा बुझाउने काम गर्छ। नेपाली युवालाई प्रेरणा र अवसर दिनुः महोत्सवले नेपाली युवाहरूलाई आफ्नो चलचित्र देखाउन, चलचित्र निर्माता र कलाकारसँग अनुभव आदानप्रदान गर्न र चलचित्र क्षेत्रमा आफ्नो भविष्य बनाउन अवसर दिन्छ।
स्थानीय र विश्व सिनेमा बीचको सेतु बनाउनः महोत्सवले नेपाली चलचित्रलाई विश्वभरका दर्शकहरूसम्म पुर्याउँदै, अन्य देशका चलचित्र र कथाहरूसँग गहिरो सम्बन्ध जोड्दछ। यसले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको संस्कृतिक सहकार्य र सामीप्यता बढाउन मद्धत गर्नेछ । पर्यटन प्रवर्धनः महोत्सवले नेपालका प्राकृतिक र सांस्कृतिक धरोहरलाई फिल्म मार्फत देखाउँछ, साथै पर्यटन प्रवर्द्धनको निम्ति विशेष सेसनहरू सहित कार्यक्रमहरू सञ्चालन गर्छ जसले पर्यटकलाई आकर्षित गर्दछ र नेपालको पर्यटन प्रवर्धन गर्न मद्दत गर्दछ।
प्रतिक्रिया