सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शिवरात्रीको अवसरमा बुधबार सिनियर निर्माता,निर्देशक,कलाकार अशोक शर्माको निर्देशनमा चलचित्र ‘डबल ट्रिपल’ औपचारिक घोषणा गरेका छन् ।

चलचित्रबारे जानकारी दिँदै शर्माले सामाजिक संजालमा लेखेका छन्,- ‘हामी आउँदैछौँ तपाईंको मज्जा ‘डबल’ होइन ‘ट्रिपल’ गर्न ।’ उक्त पोस्टमा शर्माले शीर्षक र कलाकारबारे जानकारी गराएका छन् ।

यो चलचित्र निर्देशक अशोक शर्माको नवौं निर्देशकीय चलचित्र हुनेछ । यसअघि निर्देशक शर्माले सीता, गरिब, निर्णय, अल्लारे, मिस्टर रामकृष्णे, यो मायाको सागर, जय भोले र रातो टीका निधारमा निर्देशन गरेका छन् । उनको पछिल्लो निर्देशकीय चलचित्र ‘रातो टीका निधारमा’ सन् २०१९ मा रिलिज भएको थियो ।

चलचित्रमा कलाकारहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, विल्सनविक्रम राई, उदय सुब्बा, राजाराम पौडेल लगायतको अभिनय रहने छ ।

अशोक शर्मा र राजेश सिटौलाको पटकथा लेखन रहने चलचित्रको संगीतकारमा शम्भुजीत बासकोटा रहेका छन् । आलोक शुक्लाको छायांकन, मनोज पण्डितको स्क्रिप्ट डक्टरिङ, शान बस्न्त्याको संवाद, राजु किराँतीको एक्सन र सुनिल क्षेत्रीको नृत्य निर्देशन हुनेछ ।

चलचित्रलाई किरण शर्मा पौडेल, अंकित शर्मा र कीर्ति शर्माले निर्माण गर्दैछन । चलचित्रको प्रदर्शन आगामी दशैंको फूलपातीमा हुने जानकारी निर्देशक शर्माले सामाजिक संजाल मार्फत दिएका छन्।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com