सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।

चलचित्र निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई चलचित्रमा अनुबन्ध गरेका हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई चलचित्र निर्माणको मञ्जुरी दिइसकेको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

निर्माता पोखरेलका अनुसार प्रकाश चलचित्रका प्रमुख दुई पात्रमध्ये एक हुन् । यसअघि प्रमुख कलाकारका रुपमा जितु नेपाल र सुहाना थापा अनुबन्धित भइसकेका छन् । निर्माता पोखरेलले चामे,गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितु र प्रकाशको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेको बताए ।

चलचित्रमा सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ । चलचित्रका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन् ।

निर्माता पोखेलका अनुसार चलचित्रको प्रदर्शन २०८२ मा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले चलचित्रमा प्रस्तुत गर्न लागेको बताए । चलचित्रमा निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने छ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।

निर्माता पोखरेलले यसअघि चलचित्रहरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com