सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्ती अवसर पारेर सार्वजनिक तीन पोस्टर मार्फत् यो चलचित्रआगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ ।
चलचित्रको सार्वजनिक तीन पोस्टर मध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन् । दोस्रो पोस्टरमा उनीहरुसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको छ । तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सवैजसो मुख्य कलाकारहरु पोस्टरमा अटाइएका छन् । सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रहरुलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ । यी तीन पोस्टरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।
प्रतिक्रिया