सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि आउदो जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको साथै महानायक राजेश हमाल कमब्याक हुन लागेको एक्सनप्रधान चलचित्र ‘नरसिंहा अवतार’ का निर्मातामध्येका एक हुन्, ध्रुव न्यौपाने ।‘हिरो रिटर्न्स’ र ‘मायावी’ गरी दुई चलचित्र निर्माण गरिसकेका ध्रुव अब ‘नरसिंहा अवतार’ लिएर दर्शकहरुको माया पाउने कुरामा आशावादी छन् ।
ध्रुवलाई बाल्यकालदेखि नै चलचित्रको हिरो बन्ने रहर थियो । तर, त्यो रहर भेटिने गन्तव्यको बाटो उनलाई थाहा थिएन । कसैको सहारा लिएर अघि बढ्न पनि चलचित्र क्षेत्रमा खासै चिनजानका कोही थिएनन् । यसैले आफ्नो रहरलाई एकातिर थन्काएर उनी व्यवसायमा अगाडि बढे ।
त्यसपस्चात ध्रुबले नयाँ बानेश्वरमा रोजमेरी क्याफे खोले र क्याफेमा आउने कलाकार र चलचित्रकर्मीले उनलाई रंगीन दुनियाँको बाटोमा आउन हौसाए । त्यसपछि उनले ५० भन्दा बढी म्यूजिक भिडियोमा काम गरे । ‘प्लान’, ‘सन्त्रास’, ‘पायल’ जस्ता चलचित्रहरुमा पनि अभिनय गरे ।
तर, कोभिड-१९ महामारी सुरु भएपछि उनको कलाकारिता यात्रा अवरुद्ध भयो । व्यावसायिक पृष्ठभूमिका अन्ततः त्यसले नै ध्रुबको चलचित्रकर्मी बन्ने सपना पनि पूरा गर्यो ।
ध्रुव भन्छन्, ‘कोरोना महामारीपछि कलाकार भन्दा पनि निर्माता बन्ने योजना बनाएँ । केही म्यूजिक भिडियो र चलचित्रमा काम गरेर रहर पूरा गरेँ जस्तो लाग्यो । अब व्यावसायिक दृष्टिकोणले अघि बढ्ने सोचले ‘धुर्वतारा फिल्म्स’को ब्यानरमा ‘हिरो रिटर्न्स’ बनाएँ । तर, चलचित्र चलेन । हुन त कुन चलचित्र कहिले चल्छ भन्न सकिँदैन । हामीले त आफूलाई राम्रो लागेको चलचित्र बनाउने न हो ।’
दोस्रो चलचित्र ‘मायावी’बाट पनि असफलता भोगेका ध्रुव ‘नरसिंहा अवतार’ले भने बक्स अफिसमा राम्रो गर्नेमा विश्वस्त छन् । ‘अब म निर्माता मात्रै होइन, मेरो चलचित्र करिअरको दोस्रो इनिङमा राम्रो प्रोडक्सन हाउस सञ्चालन गर्ने योजना पनि लिएर आएको छु । लाइट आइसकेको छ, क्यामरा आउँदैछन्,’ उनी भन्छन् । प्रोडक्सन हाउसबाट वर्षेनि एउटा चलचित्र निर्माण गर्ने उनको योजना छ । चेतना कन्स्ट्रक्सन’ नामक ‘क’ वर्गको निर्माण कम्पनी र होटल मुनस्टारमा सह-लगानीकर्तासमेत रहेका उनीसँग यस्तो आत्मविश्वास हुनु अस्वाभाविक होइन। ध्रुवको चलचित्र निर्माण यात्राले यसपटक लामो रेसको घोडा बन्ने देखिन्छ।
प्रतिक्रिया