सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘आ बाट आमा’मा अभिनेताका रुपमा पल शाह अनुबन्ध भएका छन्। उनलाई हालै निर्माण टिमले चलचित्रका लागि अनुबन्ध गरेको हो। पल शाहले यो चलचित्रको स्क्रिप्ट मन परेको कारणले आफुले चलचित्रमा काम गर्न राजी भएको बताए। चलचित्रमा अनुबन्ध भइसकेपछि उनले आफुलाई चलचित्रको स्क्रिप्टले भावुक बनाएको काम गर्न उत्साहित भएको बताए।

यो चलचित्रको छायांकन चाँडै गर्नका लागि आफुले निर्देशक पन्तलाई आग्रह गरेको पलको भनाई छ। उनले भने,‘सबैभन्दा पहिला त यो चलचित्रको स्क्रिप्ट मन पर्यो मलाई। स्क्रिप्टमा एकदमै इमोसनल छ। अनि टिममा पनि दिग्गज कलाकारहरुको टिम लिएर निर्माण गर्न लाग्नु भएको रहेछ। त्यसैले पनि मैले ‘आ बाट आमा’मा काम गर्न लागेको हो। साथसाथै चन्द्र पन्त दाईको यसअघिको चलचित्र ‘ह्रस्व दीर्घ’ हेर्दाखेरि उहाँले अति राम्रो मेकिङ गर्नु भएको थियो। त्यस कारण यो आ बाट आमा पनि मेकिङको हिसावले राम्रो बन्नेछ।’

उनले आफुले खेलेको अहिलेसम्मको चलचित्रमध्ये यसको कथा एकदमै राम्रो रहेको बताए। ‘यो चलचित्रको स्क्रिप्ट पनि हामीले २–३ पटक सुन्यौँ। यो सुन्ने र सुनाउने सबै मान्छे इमोसनल भएका थियौँ,’उनले भने,‘मैले अहिलेसम्म गरेको चलचित्रमध्ये यो नै इमोसनल चलचित्र बन्छ भन्ने मलाई लाग्छ। र दर्शकले पनि अति नै मन पराउनुहुन्छ भन्नेमा म ढुक्क छु र पुरा टिम नै ढुक्क छ।’ उनले यो चलचित्रमा आफ्नो क्यारेक्टरको बारेमा अहिले जानकारी दिन चाहेनन्। केहि समयपछि यसको बारेमा थप जानकारी दिने पलको भनाई छ।

यसअघि यो चलचित्रमा आमाको भुमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन्। निर्देशक पन्तले नै गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षको अन्तरालमा नेपाली रजतपटमा पुनरागमन गराएका थिए। त्यो सहकार्य निकै दर्शकले मन पराएका थिए। त्यसैले पनि होला सोही चलचित्रका निर्देशक पन्तसँग उनी दोस्रो चलचित्रमा सहकार्य गर्न लागेकी हुन्।

निर्देशक पन्तले चलचित्र ‘आ बाट आमा’मा विपनाको शीर्ष भूमिकामा रहने जानकारी दिएका छन्। अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस चलचित्रको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। चलचित्रले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ। यस चलचित्रमा विपना र पलका साथै अन्य कलाकार र प्राविधिकहरुको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले जानकारी दिए। उनका अनुसार यो चलचित्र आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउने छ।

 

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com