सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र ‘माग्ने राजा’ ले आज ओ यस आर को युट्यूब च्यानल बाट चलचित्रको टिजर सार्वजनिक गरेको छ । १ मिनेट ५८ सेकेन्ड समय रहेको टिजरले दर्शकहरुलाई हेर्दा रमाइलो अनुभुती दिन्छ ।
सार्वजनिक टिजरमा माग्ने राजा अर्थात् केदार प्रसाद घिमिरेको बोलबाला देखिएको छ । उनको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को सार्वजनक टिजरले यस्तै संकेत गरेको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ ।
केदार घिमिरेका भिन्न स्वरुप देखिने सिनेमामा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित छ । पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन् । टिजरले दुवैको भूमिकाको बारेमा भने उति धेरै खुलाएको छैन ।
केदार घिमिरेलाई पोस्टरमार्फत् नै भिन्न स्वरुपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्नेलाई नयाँ स्वरुपमा प्रस्तुत गरेको छ । ‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् ।
यस चलचित्रबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए । चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका हुन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
निर्देश लामिछाने र निर्माता घिमिरेबीच यो तेस्रो पटक सहकार्य गरेका हुन् । उनीहरुले निर्माण सहकार्य गरेका दुई चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान्-श्रीमती’ बक्सअफिसमा सुपरहिट भएका थिए ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा ‘माग्ने राजा’ मा कलाकारहरु केदार घिमिरे, वर्षा शिवाकोटी, आर्यन सिग्देल, विल्सन विक्रम राई आदिको अभिनय रहेको छ ।
आर आर फिल्मस्ले वितरण गर्ने चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद,कविराज गहतराजको नृत्य निर्देशन र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
चलचित्र ‘माग्ने राजा’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया