सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी कार्तिक १४ गते रिलिज हुने चलचित्र ‘परान’ को ट्रेलर सार्वजनिक भएको छ । आज शनिवार काठमाडौंको रन्जना सिनेमाहलमा एक कार्यक्रम गरी चलचित्रको २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । आज प्रीमियर गरिएको ट्रेलरले सासले होइन साथले चल्ने’ स्लोगन राखिएको चलचित्र ‘परान’ को ट्रेलरको मुख्य विषयवस्तु पनि यही स्लोगनको सेरोफेरोमा रहेको छ ।
ट्रेलरमा नीर शाह सँगै त्यहाँ मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अन्जना बराइली लगायतका कलाकारहरुलाई पनि प्रस्तुत गरिएको छ । ट्रेलरले चलचित्रमा बाबु छोराको सम्बन्ध र त्यसको सामाजिक हैसियत तथा स्थिति परिस्थितिले उत्पन्न हुने ती सम्बन्धका उकाली ओरालीको कथा पेश गर्ने देखाएको छ ।
अतः सार्वजनिक ट्रेलरबाट ‘परान’ चलचित्र एउटा गतिलो पारिवारिक खुराक बन्ने स्पष्ट संकेत मिलेको छ। दिग्गज कलाकारहरूको अभिनय र विषयवस्तुका कारण चलचित्र पारिवारिक दर्शकका लागि विशेष सिनेमा हुने सहजै अनुमान गर्न सकिन्छ।
सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) निर्देशित चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ। आचार्यको यो डेब्यु निर्देशन हो।
रिदम कंडेलको संगीत रहेको चलचित्रका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको डिओपी रहेको चलचित्र मित्र डि. गुरूङले सम्पादन गरेका हुन्।
देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो। देशकै ठूलो व्यापारिक घरानियाको निर्माण रहेकाले पनि चलचित्र धेरैको पर्खाइमा रहेको छ।
प्रतिक्रिया