सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट ‘झिँगेदाउ २’ को छयांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्त सहित साढे तीन करोड लगानी रहने सुपरहिट चलचित्र ‘झिँगेदाउ’को सिक्वेलको छयांकन सुरु गरिएको निर्माता समेत रहेको निर्देशक देउजाले बताए ।

मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरुभएको चलचित्रको सेड्युल ६० दिनको राखिएको छ । यो चलचित्रका लागि काभ्रेको पनौतीमा भव्य सेट लगाइएको छ । त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा यो चलचित्रको छायांकन गरिनेछ । अर्को वर्षको दशैंमा रिलिज लक्ष्य राखिएको चलचित्रको कथा ‘झिँगेदाउ’ सकिएको दृश्यबाट नै निरन्तरता दिएको छ ।

कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको चलचित्रको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने चलचित्रमा इशवर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन् ।

बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने चलचित्रमा निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com