सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र क्षेत्रमा एउटा फरक विधाको रूपमा हेरिएको मनोवैज्ञानिक थ्रिलर चलचित्र ‘द ब्लू लाइट’ माघ १६ गते (यही शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ ।

बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरू अभिनय रहेको यस चलचित्रले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको छ । ‘द ब्लू लाइट’ मा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशीको मुख्य भूमिका रहेको छ ।

बेनिशा हमाल नेपाली सिनेमा उद्योगमा अब्बल अभिनय क्षमताका लागि परिचित छन् । बेनिशा जस्तो सुकै भूमिकामा पनि आफूलाई ढाल्न सक्ने अभिनेत्री हुन् ।

मोर्डन शहरिया अभिनेत्री हुन् अथवा गाउँले सोझी–सिधा युवतीको भूमिकामा होस्, उनी सधैँ फिट देखिन्छन् । जस्तोसुकै चरित्रमा पनि ढल्नसक्ने उनै अभिनेत्री बेनिशाको ‘द ब्लू लाइट’ लाई लिएर निकै उत्साहित छिन् ।

बेनिशा यो सिनेमाले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताउँछिन् । “अहिले हामीले हेरिरहेका चलचित्र भन्दा केही फरक छ,” बेनिशा भन्छिन्, “त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्थ छ ।”

चलचित्रको कन्टेन्ट र पफर्मेन्स मन परेर नै आफू निर्माणमा पनि जोडिएको उनले प्रष्ट पारेकी छन् । बेनिशा ‘द ब्ल्यू लाइट’को कार्यकारी निर्माता पनि हुन् । साइकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’को विषय र प्रस्तुति मुख्य आकर्षण भएको उनले बताएकी छन् ।

यस्तै, अहिलेसम्म सुन्दरी र रोमान्टिक भूमिकामा देखिँदै आएकी अभिनेत्री श्रृष्टि श्रेष्ठ यस चलचित्रमा भने ‘नेगेटिभ’ भूमिकामा देखिँदै छिन् । उनले यसअघि पनि थ्रिलर फिल्म ‘११:५५’ मा काम गरेकी थिइन्, तर ‘द ब्लू लाइट’ को आफ्नो भूमिकालाई आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको बताएकी छन् ।

“यो चलचित्रमा मेरो भूमिका अलि ‘एन्टागोनिस्ट’ (खलपात्र) प्रकृतिको छ । मलाई यस्तै थ्रिलर जनराका फिल्महरूमा रुचाइएको छ, तर ‘द ब्लू लाइट’ को भूमिका र कथा एकदमै गहिरो र फरक छ,” उनले भनिन् ।

“एक कलाकारका रूपमा सधैँ राम्रो र सकारात्मक देखिनु भन्दा पनि यस्ता जटिल र नकारात्मक चरित्र निर्वाह गर्दा धेरै कुरा सिक्न पाइन्छ,” श्रृष्टिले आफ्नो अनुभव सुनाउँदै भनिन्, “निर्देशकको सोच र कथाको गहिराइले गर्दा म यो भूमिकाप्रति आकर्षित भएँ । यो मेरो करिअरकै अहिलेसम्मकै फरक भूमिका हो ।”

कलाकार अपर्ण थापाले चलचित्र ‘द ब्लू लाइट’ जस्तो सिनेमा कमै मात्रै बन्ने बताएका छन् । अपर्ण ‘द ब्लू लाइट’ जस्ता चलचित्र बनाउन बलिराम चौहानजस्ता निर्देशक नै चाहिने बताउँछन् ।

“द ब्लू लाइट जस्तो चलचित्र हम्मेसी बन्दैन । यस्तो चलचित्र बन्न बलिराम चौहान जस्ता निर्देशक नै चाहिन्छ,” अर्पण भन्छन्, “सिनेमा त धेरै बन्छन्, तर यस्तो चलचित्र घरीघरी बन्दैन, निर्देशक पनि त्यस्तै चाहिन्छ ।”

चलचित्रका केही सिन र त्यसको प्रस्तुतिको उनले तारिफ गरेका हुन् । “चलचित्र हेरेपछि दर्शकले धेरै कुरा थाहा पाउनुहुन्छ,” अर्पण भन्छन् ।

अर्पण भर्सटाइल अभिनेता हुनुका साथै आफैँ निर्देशक र लेखक पनि हुन् । गम्भीर अभिनयका लागि चिनिएका उनले चलचित्रमा पात्र निर्माण गर्दा ऐनामा हेरेर आफूलाई ‘ह्यान्डसम’ देख्नु र पर्दामा चरित्रमा ढल्किनु फरक कुरा भएको बताए ।

अर्पण भन्छन्, “कतिपय अवस्थामा हामी अभिनेताले मात्र पात्र बनाएको जस्तो ठान्छौँ, तर वास्तवमा एउटा चरित्र निर्माण हुनका लागि लेखनदेखि निर्देशन र पूरै निर्माण टोलीको उत्तिकै भूमिका हुन्छ । ‘द ब्लू लाइट’ मा हामीले एउटा यस्तो पात्रलाई प्रस्तुत गरेका छौँ, जसको मनोविज्ञानले दर्शकलाई सोच्न बाध्य बनाउनेछ ।”

अर्पणले आफू सधैँ फरक र चुनौतीपूर्ण चरित्रको खोजीमा रहने र यो फिल्मले आफ्नो त्यो भोक मेटाएको समेत बताए ।

चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा, श्रृष्टि र अर्पणका साथै आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

चलचित्र ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो ।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com