सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा हुँदै छ । बलिराम चौहानको निर्देशनमा तयार भएको यो चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ ।
निर्देशक चौहानका अनुसार यो चलचित्र केवल हेरेर बिर्सिने कथा मात्र नभई दर्शकले गहिराइमा अनुभूत गर्ने एउटा विशेष सिनेमा हो । चलचित्रले मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास गरेको छ ।
चलचित्रको ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई ‘हरर’ विधाको फिल्मको रूपमा अनुमान गरेका थिए । तर, निर्देशक चौहानले यसलाई स्पष्ट पार्दै भनेका छन्, “हाम्रो चलचित्र हरर होइन, यो एउटा मनोवैज्ञानिक ड्रामा–थ्रिलर हो । यद्यपि, केही दृश्यहरूले दर्शकलाई डरको अनुभूति भने पक्कै गराउनेछन् ।”
पछिल्लो समय नेपाली चलचित्र उद्योगमा नयाँ निर्देशकहरूको आगमन र पलायनको क्रम बढ्दो छ । यसै सन्दर्भमा निर्देशक चौहान आफूलाई फरक रूपमा प्रस्तुत गर्छन् । उनी भन्छन्, “म रातारात हिट हुन वा त्यसैगरी हराउन आएको होइन । म एउटा लामो यात्राको लागि तयार भएर चलचित्र क्षेत्रमा प्रवेश गरेको हुँ । मेरो योगदान र गन्तव्य अरूभन्दा फरक हुनेछ ।”

चलचित्र ‘द ब्लू लाइट’ मा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा देखिएका छन् । चलचित्रको कथा यिनै दुई पात्रको वरिपरि घुम्ने निर्देशकले जानकारी दिए । स्थापित कलाकारहरूको ठूलो जमघट रहे पनि भूमिकालाई लिएर कुनै विवाद नभएको र सबै कलाकारले आफ्नो चरित्रमा नयाँपन पाएको चौहानको दाबी छ ।
“हामीले प्रेम, धोका र बदलाकै विषयलाई नयाँ शैलीमा देखाउन खोजेका छौँ । यसभित्रका पात्रहरूको संवेग र भावनाहरू निकै संवेदनशील छन्, जसले दर्शकलाई नयाँ खालको अनुभव दिनेछ,” उनले भने ।
लगातार नेपाली चलचित्रले दर्शकलाई निराश बनाइरहेका बेला ‘द ब्लू लाइट’ ले भने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क देखिएको छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।
चलचित्र ‘द ब्लू लाइट’ बलिराम चौहानको डेब्यु निर्देशन हो ।









प्रतिक्रिया