सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त अवसरमा स्व. सिटौलाको तस्बिरमा माल्यार्पण गर्दै वरिष्ठ पत्रकार तथा कलाकारहरूले उहाँप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।
संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा अध्यक्ष बलामीले कम्तीमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो । हरेक वर्ष माघ १८ गते स्व. दिनेश सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने तथा संघको वार्षिक उत्सवका अवसरमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्यसहित उक्त अक्षय कोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख अतिथि दिनेश डिसीले स्व. सिटौलाको नेपाली चलचित्र उद्योग र चलचित्र पत्रकारितामा रहेको योगदानको स्मरण गर्दै अक्षय कोषमा सहयोग गर्न सबैसँग अपिल गर्नुभयो । उहाँले स्व. सिटौलाले पुराना तथा नयाँ पुस्ताका पत्रकार र चलचित्रकर्मीहरूबीच सहकार्य र सहजीकरणको वातावरण सिर्जना गर्दै आएको उल्लेख गर्दै बोर्डका तर्फबाट अक्षय कोषमा रु. ५१ हजार सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो ।

त्यसैगरी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्व. सिटौलाको योगदानको चर्चा गर्नुभयो । उहाँले स्व. सिटौला मिलनसार, सहयोगी भावना र सकारात्मक सोचका धनी व्यक्तित्व भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा रु. १० हजार सहयोग प्रदान गर्नुभयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा वरिष्ठ चलचित्र पत्रकारहरू ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा, रोयल आचार्यलगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिटौलाको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव रघुनाथ सापकोटाले गर्नुभएको थियो भने समापन उपाध्यक्ष कुवेर गिरीले गर्नुभएको थियो ।

स्थापित अक्षय कोषमा विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट सहयोग घोषणा गरिएको छ । ओएसआर डिजिटलले रु. ३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले रु. २५ हजार, निर्माता द्वय सरोज वली र मोहितवंश आचार्यले रु. २५ हजार, षट्कोण आट्र्सले रु. २५ हजार, दिलासा क्रिएसनका तर्फबाट वरिष्ठ चलचित्र पत्रकार लक्ष्मण सुवेदीले रु. ११ हजार तथा चलचित्र ‘राम नाम सत्य’ टिमले रु. १० हजार सहयोग घोषणा गरेका छन् । यसअघि चलचित्र पत्रकार तथा अन्य सहयोगी निर्माता एवं व्यक्तिहरूबाट रु. ३ लाखभन्दा बढी सहयोग संकलन भइसकेको संघले जनाएको छ ।
यसैबीच, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थप सहयोग संकलन गरिएको जानकारी दिइएको छ । कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूको सूची संघले क्रमशः औपचारिक रूपमा सार्वजनिक गर्दै जाने जनाएको छ ।









प्रतिक्रिया