सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक अनिल बुढा मगरले चलचित्र ‘मितज्यू’को छायांकन सकेका छन्। उनले सुटिङ थालेको एक महिनामै चलचित्रको सम्पुर्ण छायाँकन सकेका हुन्।

वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको थियो। सुटिङ थालेको एक महिना मै चलचित्रको सुटिङ कार्य सकिएको निर्माता जनक घर्ती मगरले बताए। उनका अनुसार कलाकार र प्राविधिक पक्षले सहज तरिकाले काम गरेपछि तोकिएकै समयमा चलचित्रको सुटिङ सम्पन्न भएको हो।
उनका अनुसार यो फिल्म सामाजिक कथावस्तुमा आधारित हो।

दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।

निर्देशक अनिल बुढा मगरले चलचित्रको छायांकन रमाइलो गरि नै सकिएको बताए। सबै पक्षको जोडबलका साथ भएकै कारण एक महिनामै फिल्म खिच्न सफल भएको उनको भनाई छ। निर्देशक मगरको यो दोस्रो चलचित्र हो। यसअघि उनले फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेका थिए। जुन चलचित्र सफल भयो।

चलचित्रको पोडक्सन म्यानेजर धन बहादुर राई (भान्जा)ले गरेका हुन् भने चलचित्रको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर,प्रतीक्षा भाट क्षेत्री , सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे,कार्यशाला भोलाराज सापकोटाले गरेका छन्।

त्यसै गरि चलचित्रमा द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने साउन्ड डिजाइनर नवीन श्रेष्ठले गरेका छन्। संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। चलचित्रका गीतमा संगीतकार मल्ल,मेलिन राई र लक्ष्मी मल्लले गाएका छन्।

आरआर फिल्म्स वितरक रहेको चलचित्र आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com