सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत्रको २७ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ गीत रिलिज भएको १३ दिन भयो । तर, यो गीतले युट्युब र सामाजिक संजालमा भने हंगामा मच्चाइरहेको छ ।

निर्वाचनको समयमा सिंगो देशको ध्यान नै मतदान र मतपरिणाममा तानिएको समयमा पनि यो गीतले भने आफ्नो रफ्तारलाई कायम राखिरहेको छ । यो गीतलाई सार्वजनिक भएको २ साता नवित्दै युट्युबमा हेर्नेको संख्या २१ लाख पुगेको छ । दर्शकले यो गीतमा लाख भन्दा बढी टिकटक बनाइसकेका छन् । जसकाकारण, चलचित्रको व्यापारमा यो गीतले निकै फाइदा दिने देखिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो गीतको टिजर केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको छ ।

यो गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ ।रोमान्टिक शैलीको यो गीतमा चलचित्रका मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन् ।

गीतले दर्शकको मन जितेपछि निर्देशक माइकल चन्द उत्साहित देखिए । उनले भने–‘निर्वाचनको छेकोमा हामीले गीत सार्वजनिक गर्दा धेरैले गलत समयमा किन रिलिज गर्नुभयो भनेका थिए । तर, गीत हिट हुनेमा हामी विश्वस्त थियौं । आज दर्शकको मुखमा गीत झुन्डिएको छ । लाखौं टिकटक बनेका छन् । यसले, हामीलाई उत्साहित बनाएको छ ।’
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।

किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार चलचित्रका कार्यकारी निर्माता हुन् । मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यो चलचित्रका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत चलचित्रमा छ ।

माइकल चन्दकै कथा र पटकथा रहेको यो चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रमा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर र ट्रेलर छ । चलचित्रका स्क्रिप्ट सल्लाहाकार अभिमन्यू निरवी र समय थपलिया हुन् ।

चलचित्रले ‘पर्दा पछाडिको पर्दा’को थिम बोकेको छ । चलचित्रमा विराज भट्ट, सुपुष्पा भट्टको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ ।चलचित्रलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com