सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो ।
ठूलो लगानी र नाम चलेका कलाकारहरूको समिश्रण रहेकाले यो चलचित्रलाई यस वर्षको प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ ।
क्यामेरा पूजा गर्दै छायांकन थालिएको सिनेमाको पहिलो दिनको सेड्युलमा चलचित्रका मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन् । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।
चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित सिनेमा भने होइन । निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ (सामाजिक कथा) हो । चलचित्रमा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ ।
निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् ।
चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गर्दैछन् । नेपाली फिल्म क्षेत्रमा सफल पटकथा लेखकको पहिचान बनाएका सुशील पौडेलले यसको कथा, पटकथा तथा संवाद लेखेका हुन् । पौडेल यसअघि समीक्षक र दर्शक दुवैले रुचाएको चर्चित फिल्म ‘प्रसाद’का लेखक हुन्, जसका कारण ‘पाँच पाण्डव’को कथावस्तु पनि बलियो हुने अपेक्षा गरिएको छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । हरिवंश आचार्यलगायत रुचाइएका र अग्रज कलाकार रहेकाले चलचित्रको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए ।
श्रेष्ठ भन्छन्, “हामीले एक ऐतिहासिक र दर्शकले वर्षौंसम्म सम्झिरहने चलचित्र बनाउने संकल्प गरेका छौँ । कलाकारहरूको लाइनअपले नै फिल्मको क्यानभास ठूलो छ भन्ने प्रष्ट पार्छ । हामी प्रविधि र मेकिङमा निकै सचेत छौँ ।”
यो चलचित्रलाई श्याम तामाङले खिच्ने छन् । करिब ४० दिनको छायाकंन तालिका तय गरिएको अधिकांश दृश्य झापा मै खिचिने निर्माण टिमले जानकारी दिएको छ ।
चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने छ ।
झापाका विभिन्न रमणीय स्थानहरूमा छायांकन सकेपछि टोलीले अन्य स्थानको सेड्युल तय गर्ने निर्देशक निरौलाले जानकारी दिए । दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको एउटै पर्दामा उपस्थिति रहने भएकाले चलचित्रलाई लिएर सिने वृत्तमा अहिलेदेखि नै चर्चा चुलिएको छ ।






प्रतिक्रिया