सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  अभिनेता जीतु नेपालले निर्माण गरेको चलचित्र ‘आई.एम. जीतबहादुर’को टिजरले युट्युबमा दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ। सार्वजनिक भएको चार दिनमै टिजरले झन्डै साढे ६ लाख भ्युज बटुल्न सफल भएको छ भने ६ हजारभन्दा बढी लाइक र करिब पाँच सय कमेन्ट प्राप्त गरेको छ।

दर्शकहरूको प्रतिक्रिया हेर्दा टिजरको प्रस्तुति र स्टाइललाई निकै फरक र आकर्षक भन्दै प्रशंसा गरिएको छ। अहिले चलचित्र ‘पाँच पाण्डव’को छायांकनमा व्यस्त रहेका जीतु नेपाल पनि टिजरले पाएको मायाबाट उत्साहित देखिएका छन्। उनले छिट्टै चलचित्रको प्रदर्शन मिति घोषणा गरिने र क्रमशः अन्य प्रचार सामग्री सार्वजनिक गरिने जानकारी दिएका छन्।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस चलचित्रले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्दछ। चलचित्रमा जीतु नेपाल मुख्य भूमिकामा छन् भने उनको जोडीका रूपमा वर्षा राउत देखिएकी छन्।

यसैगरी, प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनालले पनि विशेष भूमिकामा अभिनय गरेका छन्।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको चलचित्रमा निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माता रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले सह–निर्माण गरेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको चलचित्र आगामी असारभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com