सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको हो।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्याैपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। लोकलयमा आधारित यस गीतले तीन पात्रबीचको मायाप्रेमलाई चित्रण गरेको छ। “टाढा भइस नभन त कहिले,तिमीसँगै छु सानु म जहिले” भन्ने भाव गीत र भिडियोमा प्रस्तुत गरिएको छ।
चलचित्रमा सौगात मल्लको यसअघिका फिल्मभन्दा फरक लुक्स देख्न सकिन्छ। ‘भुनभुन माहुरी’ बोलको गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ भने स्वर पनि उनकै छ। उनलाई महिला स्वरमा लक्ष्मी मल्लले साथ दिएकी छन्।
गीतको भिडियोमा निङ्मा डी लेप्चाको कोरियोग्राफी रहेको छ। उनको फरक शैलीको नृत्य निर्देशनमा तीनै कलाकारले उत्कृष्ट प्रस्तुति दिएका छन्। युवापुस्तामा लोकप्रिय दोहोरी संस्कृतिलाई समेटेर तयार पारिएको यो गीत दोहोरी साँझको परिवेशमा छायांकन गरिएको छ, जसले गीतलाई थप जीवन्त बनाएको छ।

ग्रामीण परिवेशमा आधारित यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका अलावा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
अनिल बुढा मगरको निर्देशनमा बनेको यस चलचित्रमा जनक घर्ती मगरको लगानी रहेको छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ।
चलचित्रका गीतमा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ भने स्वरमा मल्लसहित मेलिना राई र लक्ष्मी मल्ल रहेका छन्। मुख्य सहायक निर्देशकको रूपमा फिरोज खड्का रहेका छन्। आरआर फिल्म्स वितरक रहेको चलचित्रको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। यसअघि सार्वजनिक गीत ‘गैराघरे काँइली’ दर्शकमाझ निकै रुचाइएको थियो र अहिले पनि चर्चामा रहेको छ।







प्रतिक्रिया