सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको चलचित्रको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ ।

चलचित्रको २ मिनेट लामो ट्रेलरमा निर्देशक सहारा शर्माले विवाह र सम्बन्धलाई लिएर परिवारभित्र बुनिएको जटिल पहेँली, बुझाई र दृष्टिकोणलाई सहजरुपमा चित्रण गरेकी छन् । मुख्य पात्र आँचल विवाहलाई लिएर खुसी छैनन् । परिवार भने उनको विवाहमा सामाजिक प्रतिष्ठा देखिरहेको छ । यसबीच, परिवारभित्र आउने सम्बन्ध र अपेक्षाको उतारचढावले ट्रेलरलाई रोचक बनाएको छ ।

चलचित्रमा आँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति समेत रहेकी निशा करिब तीन दशकपछि यही सिनेमामार्फत अभिनयमा फर्किएकी हुन् ।

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेको चलचित्रमा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । निर्माण टोलीमा जर्मनका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि रहेका छन् । थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको चलचित्रमा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन तथा भारतकी दीपा भाटियाको सम्पादन रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com