सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । पश्चिम नेपालको बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको यस चलचित्रले ऐतिहासिक तथा सामाजिक यथार्थलाई समेटेको निर्माण टिमले जनाएको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

‘लालीबजार’ पश्चिम नेपालको बादी समुदायको कथा र उनीहरूले भोगेका सामाजिक, आर्थिक तथा सांस्कृतिक पीडामा आधारित पिरियड चलचित्र हो । विसं २०४३ सालदेखि २०५८ सालसम्मको समयावधिलाई समेटिएको यस चलचित्रले तत्कालीन समाजमा विद्यमान असमानता, सत्ताको दुरुपयोग र कमजोर समुदायमाथि भएका अन्यायलाई चित्रण गर्ने प्रयास गरेको छ ।

चलचित्रको कथावस्तु अनुसार, बादी समुदायका महिलामाथि हुने शोषण, ‘नथी’ जस्ता परम्परागत अभ्यासमार्फत गरिने नियन्त्रण तथा स्थानीय सत्ताधारी वर्गको प्रभावलाई केन्द्रमा राखिएको छ । विशेषगरी एउटा आमाले आफ्नी छोरीलाई त्यस्तो दमनकारी परिवेशबाट जोगाउन गरेको संघर्षलाई फिल्मको मुख्य कथा बनाइएको छ ।

अभिनेता रवीन्द्रसिंह बानियाँले ‘लालीबजार’ केवल मनोरञ्जनका लागि मात्र नभइ सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको बताएका छन् । उनले भने, ‘लालीबजार’ पश्चिम नेपालको बादी समुदायको कथा र व्यथामा आधारित पिरियड फिल्म हो । त्यो समयको सामाजिक संरचना निकै जटिल थियो । आर्थिक रूपमा सबल र सत्तामा पहुँच भएका व्यक्तिहरूले कमजोर समुदायमाथि दबाब र शोषण गर्ने अवस्था थियो । ‘नथी’ भन्ने परम्पराले महिलाहरूलाई सम्पत्तिजस्तो व्यवहार गर्ने प्रवृत्ति देखाउँथ्यो । फिल्ममा एक आमाले आफ्नो छोरीलाई त्यस्तो परिस्थितिबाट बचाउन समाज र सत्तासँग लडेको कथा प्रस्तुत गरिएको छ ।’

उनले फिल्ममा त्यही परिवेशभित्र एक आमाले आफ्नी छोरीलाई दमनकारी परिस्थितिबाट जोगाउन समाज र सत्तासँग गरेको संघर्षलाई मुख्य कथावस्तु बनाइएको बताए । बानियाँ स्वयंले पनि प्रभावशाली जमिन्दार वर्गसँग सम्बन्धित पात्रको भूमिका निर्वाह गरेका छन् । उनका अनुसार ‘लालीबजार’ केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक दायित्वबोधका साथ निर्माण गरिएको चलचित्र हो ।

‘यस चलचित्रमार्फत उक्त समुदायले भोगेका पीडा र यथार्थलाई सम्मानपूर्वक प्रस्तुत गर्ने प्रयास गरेका छौं,’ उनले भने । फिल्म निर्माणका क्रममा टिमले विभिन्न स्थानमा पुगेर अध्ययन, अनुसन्धान तथा स्थानीय समुदायसँग अन्तरक्रिया गरेर कथा तयार पारेको उनले जानकारी दिए । अघिल्ला फिल्महरूमा हल्का-फुल्का विषयवस्तु समेटिएको भए पनि यसपटक गम्भीर र संवेदनशील विषय रोजिएको उनले बताए । विभिन्न समयकालमा घटेको घटना र परिवेशबाट प्रेरित भएकाले फिल्मलाई थप जिम्मेवारीका साथ निर्माण गरिएको उनको भनाइ छ ।

उनले भने, ‘चलचित्र केवल व्यापारिक हिसाबले बनाएका होइनौं । यो हाम्रो सामाजिक दायित्व पनि हो । जसले यस्तो पीडा भोग्नुभयो, उहाँहरूलाई सम्मान र ‘ट्रिब्युट’ दिनु पनि हाम्रो उद्देश्य हो । त्यसैले विभिन्न स्थानमा पुगेर अनुसन्धान गरेर, समुदायसँग नजिकिएर कथा तयार पारेका छौं । अघिल्ला चलचित्रहरूमा हल्का–फुल्का विषय उठाएका थियौं, तर यसपटक संवेदनशील र गम्भीर विषयमा काम गरेका छौं। फिल्म साँचो घटना र परिवेशबाट प्रेरित भएकाले अझ जिम्मेवारीका साथ निर्माण गरिएको हो ।’

निर्माण पक्षले ‘लालीबजार’ बैशाख १८ गतेबाट दर्शकमाझ आउँदैछ । सामाजिक यथार्थमा आधारित फरक धारको कथावस्तुका कारण चलचित्रले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।

यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्मको ट्रेलर षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), मिडिया संयोजक सिपी जैशी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com