सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निकै उत्कृष्ट समीक्षा र दर्शकको व्यग्र प्रतीक्षाका बीच नेपाली चलचित्र ‘मालती मंगले’ आज (शुक्रवार) देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ। वितरक रोहित कट्टेलका अनुसार यस चलचित्रले नेपालभर १५० भन्दा बढी शो प्राप्त गर्दै बक्स अफिसमा आफ्नो सानदार व्यावसायिक यात्रा तय गरेको छ। रिलिजको पूर्व सन्ध्यामा आयोजना गरिएको ग्रान्ड प्रिमियरमा विशिष्ट व्यक्तित्वहरूबाट प्राप्त उच्च प्रशंसाले यस चलचित्रप्रतिको दर्शकको आकर्षणलाई थप उचाइमा पुर्‍याएको छ।

राजधानीमा आयोजित प्रिमियर शोमा चलचित्र हेर्न हलमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछानेले ‘मालती मंगले’लाई नेपाली समाजले भन्नै पर्ने कथाको संज्ञा दिएका थिए। यस्तै, नेपालका चर्चित अनुहारहरूले पनि चलचित्रको भरपुर प्रशंसा गरेका थिए। यो चलचित्र समीक्षकहरूबाट पनि प्रशंसित छ।

प्रिमियरमा चलचित्रको कथावस्तु र प्रस्तुतिसँगै कलाकारहरूको अभिनयले सर्वाधिक चर्चा बटुलेको छ। अभिनेता विजय बरालले आफ्नो स्वाभाविक अभिनयको जादु यस पटक पनि उत्कृष्ट ढङ्गले पस्किएका छन् भने नायिका वर्षा राउतले आफ्नो फिल्मी करियरकै हालसम्मको सर्वोत्कृष्ट अभिनय गरेको भन्दै दर्शक तथा समीक्षकहरूले दाबी गरेका छन्। यसका साथै, टेलिभिजनका कमेडी शोहरूबाट लोकप्रियता कमाएका मेक्सम गौडेलले ठुलो पर्दामा गरेको बलियो उपस्थितिलाई चलचित्रको अर्को मुख्य आकर्षण मानिएको छ। चलचित्रमा यी तीनका अलावा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको पनि जीवन्त र सशक्त अभिनय रहेको छ।

रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा रामकृष्ण ढकालले निर्माण गरेको यस सोसल-ड्रामालाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। निर्देशक पाण्डेय स्वयंको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद भने संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रमा सागर ज्ञवाली कार्यकारी निर्माता रहेका छन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा जोडिएका छन्। प्राविधिक रूपमा पनि निकै अब्बल मानिएको यस चलचित्रलाई महेश पौडेलले क्यामेरामा कैद गरेका हुन्। चलचित्रमा रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको पार्श्व सङ्गीत र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। प्रिमियरको प्रतिक्रिया र आक्रामक शो सङ्ख्याले चलचित्रले बक्स अफिसमा सुखद नतिजा ल्याउने अपेक्षा गरिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com