सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य भूमिका रहेको चलचित्र ‘मितज्यु’ को ट्रेलरले युट्युबमा निकै राम्रो चर्चा कमाइरहेको छ। ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक भएको यो ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पर्न सफल भएको हो।

गत सोमबार राजधानीमा एक पत्रकार सम्मेलनका बीच सार्वजनिक गरिएको ट्रेलरले केही दिनमै १० लाख (एक मिलियन) भन्दा बढी भ्युज पार गरेको छ। यो समाचार तयार पार्दासम्म १० लाख २७ हजारभन्दा बढीले हेरिसकेको यस ट्रेलरमा करिब सात सय दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरिया फौजा मगरले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन्। उनको अभिनयलाई दर्शकले प्राकृतिक र प्रभावशाली भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरिरहेका छन्।

नेपाली समाजमा हराउँदै गएको मितेरी साइनोको मौलिक कथालाई चलचित्रले समेटेको छ। गाउँमा नयाँ बाटो पुगेपछि गाडी चालकहरूबीच हुने प्रतिस्पर्धा, झगडा र दुई मितहरू दयाहाङ र सौगात बीचको सम्बन्धमा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ। अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्।

चलचित्रमा दया, सौगात र तेरियाका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहेको छ। चलचित्रको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य समावेश छ। श्रीकृष्ण बम मल्लको संगीत रहेको यस चलचित्रलाई शिशिर विशंखेले छायांकन र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। आरआर फिल्म्सले वितरण गर्ने यो फिल्म आगामी जेठ ८ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com