सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले सिनेमाको छायांकन सुरु गरेको हो ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने चलचित्र पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायांकन सुरु भएको हो । शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकार उपस्थित थिए ।
चलचित्र ३५ दिन छायांकन गर्ने सेड्युल रहेको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन् ।
अभिनेता विजय बराल र अञ्जना बराइली ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यो सिनेमामार्फत दोस्रोपटक सहकार्य गर्दैछन् । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’मार्फत आफूलाई नेपालको ‘ब्लकबस्टर निर्देशक’को रूपमा स्थापित गरेका थिए ।
अहिले निर्देशक पौडेलले त्यही ‘लक्की’ टिम (विजय र अञ्जना)लाई लिएर ‘सिन्दुरे जात्रा’ छायांकन सुरु गरेका छन् । चलचित्रलाई राम्रो बनाउन कुनै पनि कसर बाँकी नराख्ने उनले बताए ।
चलचित्रमा लेखन पनि निर्देशक पौडेल स्वयंको छ । आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।








प्रतिक्रिया