सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी केकी अधिकारी अहिले नयाँ चलचित्र ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन्। चलचित्र काजी र कजिनीको प्रेमकथामा बनेको छ।

हालै राजधानीमा आयोजित कार्यक्रममा उनले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारको रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण फरक भइसकेको भए पनि ‘काजी’ को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराखेको छ।
.
उनले भनिन्, ‘हामी वास्तविक जीवनमा पनि परिवार होस् वा आफूले प्रेम गरेको व्यक्ति, हामीलाई कहिलेकाहीँ म मात्रै बढी दिइरहेको छु भन्ने महसुस हुन्छ। मानव मनोविज्ञान नै त्यस्तो हुन्छ। तर ‘काजी’ को संसारमा भने त्यो सोचभन्दा बिल्कुल फरक र भावनात्मक गहिराइ भेटिन्छ।’ उनका अनुसार फिल्मकी पात्र ‘काजिनी’ लाई ‘काजी’ ले जति प्रेम गर्छ, त्यति प्रेम कजिनीले सात जुनीसम्म पनि फर्काउन सक्दिनँ भन्ने अनुभूति हुन्छ।

चलचित्रको कथालाई स्पष्ट पार्ने क्रममा केकीले रामायणको प्रसंग पनि जोडिन्। ‘राम र सीताको कथामा पनि सीताले रामका लागि धेरै त्याग गरेकी थिइन् भन्ने मलाई लाग्छ। वनवास गइन्, अग्निपरीक्षा दिइन्। तर ‘काजी’ को संसारमा काजिनीले काजीलाई त्यो स्तरभन्दा पनि माथि राखेर हेर्न सक्छिन्,’ उनले भनिन्, ‘फिल्ममा काजिनीले अनुभव गर्ने समर्पण, त्याग र प्रेमले यहाँ प्रेमले संसार थामेको छ भन्न सकिन्छ।।’

काजिनीको पात्रबारे बोल्दै उनले अर्को रोचक पक्ष पनि खुलाइन्। उनका अनुसार काजिनीलाई ‘काजी’ जस्तो श्रीमान पाउनु कुनै संयोग नभई अघिल्ला जन्महरूको पुण्यको फलजस्तो लाग्छ। उनले भनिन्,‘काजिनीले छ जुनीसम्म गरेको पुण्यको फल सातौं जन्ममा काजीलाई पाउनु हो भन्ने भाव छ।’

उनका अनुसार ‘काजिनी’ का लागि संसारमा सबैभन्दा ठूलो कुरा सम्बन्ध हो। काजीले आफूलाई जुन दृष्टिकोणबाट हेर्छ, त्यो प्रेम र विश्वास जोगाइराख्न उनी जे गर्न पनि तयार हुन्छिन्। ‘कजिनीका लागि माया, विश्वास र सम्बन्ध नै सबैभन्दा ठूलो कुरा हो, संसारका अरू सबै कुरा साना लाग्छन्,’ केकीले फिल्ममा कजिनी पात्रबारे आफ्नो अनुभव सुनाइन्।

काजीकै प्रेम र विश्वासले आफू चरित्रमा वास्तविक कजिनी नै भएर बाँचेको सुनाउँदै उनले भनिन्,‘कजिनीको सबैभन्दा ठूलो आत्मविश्वास नै काजीको उ प्रतिको प्रेम र विश्वास हो। त्यो चिजले मानिसलाई कति धनी बनाउँछ। कति आत्मविश्वासी बनाउँछ भन्ने कुरा फिल्ममार्फत देखाइएको छ।’ केकीले भनिन्।

फिल्मको कथावस्तुले उनलाई सुरुदेखि नै भावनात्मक रूपमा जोडेको थियो। फिल्ममा कजिनी पात्र सामान्य छैन, यसभित्र धेरै पीडा, माया र जिम्मेवारी छ,’ उनले भनिन्।

अभिनेता विपिन कार्कीसँगको सहकार्यलाई उनले निकै सहज र स्मरणीय स्मरणीय अनुभवको रूपमा लिएकी छन्। विपिनसँगको भावनात्मक केमेस्ट्री र पारिवारिक कथावस्तुमा बनेको फिल्मले दर्शकलाई आकर्षित गर्ने उनको विश्वास छ।

करिब डेढ दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय केकीले सधैं फरक र सशक्त पात्र रोज्दै आएकी छन्। पछिल्लो समय ‘बोक्सीको घर’ जस्तो महिला केन्द्रित फिल्ममार्फत चर्चा कमाएकी उनले राम्रो कथा र समाजसँग जोडिएका विषयलाई प्राथमिकता दिने बताउँदै आएकी छन्।

केकीको अभिनय यात्रालाई नजिकबाट हेर्नेहरूका लागि ‘काजी’ उनको परिपक्व अभिनयको अर्को अध्याय बन्न सक्ने अपेक्षा गरिएको छ। फिल्मको प्रचार सामग्रीमा केकी र विपीनको जोडीलाई दर्शकले निकै रुचाएका छन्। सार्वजनिक ट्रेलर र गीतमा देखिएको उनीहरूको प्रस्तुतिले पनि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

फिल्म यही जेठ ८ गतेदेखि देशभर प्रदर्शन हुँदैछ। ग्रामीण परिवेशमा आधारित फिल्मले भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको निर्माण टिमको दाबी छ। फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com