सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी बडादसैँको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को जापान वितरण अधिकार (डिष्ट्रिब्युसन राइट्स) बिक्री भएको छ। निर्माण पक्षका अनुसार चलचित्रको जापान प्रदर्शन अधिकार आर एन्ड बी इन्टरटेनमेन्टले खरिद गरेको हो। यसअघि यो चलचित्रको अमेरिका र क्यानडा राइट्स डोको फिल्म्सले महँगो रकममा खरिद गरिसकेको छ। अमेरिका र क्यानडापछि जापानमा पनि प्रदर्शन अधिकार बेलैमा सुरक्षित हुनुले वैदेशिक बजारमा यस चलचित्रप्रति वितरक र दर्शकको उत्साह उच्च रहेको देखिन्छ।

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन हिजो सोमबारबाट मकवानपुरको चित्लाङबाट सुरु भइसकेको छ। चित्लाङका अलावा विदेशमा समेत चलचित्रको सुटिङ गर्ने सेड्युल रहेको निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्। आर्या इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको लेखन, पटकथा तथा निर्देशन चन्द्र पन्तले नै गर्दैछन् भने प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

निर्माण पक्षको घोषणा अनुसार यो फिल्म आगामी असोज ३० गते (अक्टोबर १६) का दिन नेपालसहित विश्वभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको मुख्य नारा “दशैंको जमरा र आमाको पर्खाइको कथा” राखिएको छ, जसले चलचित्र पारिवारिक र भावनात्मक कथावस्तुमा आधारित रहेको संकेत गर्छ।

यस चलचित्रमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्काको मुख्य भूमिका रहने छ। नेपालमा यस चलचित्रको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com