सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तथा दिपेन्द्र केसीद्वारा निर्देशित एवं निर्मित वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। निर्देशकले सार्वजनिक गरेको पोस्टरले वृत्तचित्रको गम्भीर विषयवस्तु र यसले प्राप्त गरेका अन्तर्राष्ट्रिय सफलताहरूलाई एकैसाथ उजागर गरेको छ।
श्यामश्वेत थिममा रोयल भीमसनेले तयार पारेको यस पोस्टरमा विकट ग्रामीण परिवेशमा रहेका सन्चलाल र एक बालकको दृश्य समावेश गरिएको छ। यस वृत्तचित्रले मकवानपुरको मनोहरीको जङ्गलको बीचमा रहेको एक विकट चेपाङ गाउँमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति ‘सन्चलाल’को कथालाई पर्दामा उतारेको छ। गरिबी, एक्लोपन र अनेकौँ अभावका बाबजुद पनि जीवनप्रतिको आशालाई जीवितै राख्न उनले गरेको सङ्घर्ष र उनको मौन साहसलाई यसले सुक्ष्म रूपमा प्रस्तुत गरेको छ। निर्देशक दिपेन्द्र केसीले सन्चलालको मार्मिक अवस्था र सीमान्तकृत समुदायको यथार्थलाई अत्यन्तै संवेदनशीलताका साथ यस वृत्तचित्रमा देखाउने प्रयास गरेका छन्।
यस वृत्तचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको छ। अष्ट्रेलियामा आयोजना भएको ‘टाइटान इन्टरनेसनल फिल्म फेस्टिभल’मा सन् २०२५ को चौथो सिजन तथा वर्षकै उत्कृष्ट वृत्तचित्रको विजेता बनी २ अवार्ड प्राप्त गरेको तथा ‘बलिउड एन्ड हलिउड फिल्म फेस्टिभल अष्ट्रेलिया २०२६’का लागि आधिकारिक रूपमा छनोट भएको छ।
वृत्तचित्रको लेखन निर्देशक दिपेन्द्र केसी र ईश्वर लुइँटेलले संयुक्त रूपमा गरेका हुन् भने छायांकन अर्जुन सापकोटा र हिमाल शर्माले गरेका छन्। मदन घिमिरेको सम्पादन रहेको यस वृत्तचित्रले नेपाली समाजको एउटा लुकेको र यथार्थपरक कथालाई अन्तर्राष्ट्रिय मञ्चमा सफलतापूर्वक पुर्याएको छ।









प्रतिक्रिया