सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको छ । घरेलु बजारमा ९ करोड रुपैयाँ कमाइ गर्दै ‘लालीबजार’ आर्थिक वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका नेपाली चलचित्र मध्ये सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा@बक्सअफिस’ले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठ २४ गतेसम्म चलचित्रले ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
उक्त अवधिसम्म चलचित्रका २ लाख ९८ हजार २२७ टिकट बिक्री भएका छन्। बोर्डले सार्वजनिक गरेको तथ्यांक आइतबारसम्मको भएकाले मंगलबारसम्म चलचित्रको कमाइ ९ करोड रुपैयाँ नाघिसकेको छ ।
अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको चलचित्रमा अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा तथा प्रशंसा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रमार्फत डेब्यु गरेका अभिनेता विशाल देवकोटा र अभिनेत्री प्रशंसा सुवेदीले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छन्। विशालले करिब नौ वर्ष रंगमञ्चमा काम गरेपछि ठूलो पर्दामा डेब्यु गरेका हुन् । पहिलो चलचित्र नै व्यावसायिक रूपमा सफल भएपछि आफूले मेहनतको प्रतिफल पाएको उनको भनाइ छ।
चलचित्रमा उनले ‘नारायण’ नामक पात्रको भूमिका निर्वाह गरेका छन्। शिक्षाको महत्त्व बुझाउने पात्रका रूपमा प्रस्तुत भएकाले दर्शकले उक्त चरित्रलाई विशेष रुचाएका छन्। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’को निर्देशन यम थापाले गरेका हुन्।
चलचित्रमा प्रदीप भट्टराई कार्यकारी निर्माता तथा पटकथाकारका रूपमा रहेका छन् भने म्याक्स दीपश खत्री निर्माता हुन्। चलचित्रको सम्पादन मित्रदेव गुरुङले गरेका छन् भने छायांकन सुशन प्रजापतिले गरेका छन्।









प्रतिक्रिया