सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी चलचित्र ‘गंगा रानी’मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन् । करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले आफ्नो पहिलो सिनेमामै मुख्य भूमिका हात पारेका हुन्। यो उनको डेब्यु सिनेमा हो।

चलचित्रका लागि यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन्। ‘गंगा रानी’मा रोशन र वर्षाको जोडी दर्शकले पहिलोपटक ठूलो पर्दामा देख्न पाउनेछन्।

केही म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेका रोशन ‘गंगा रानी’लाई लिएर उत्साहित छन्। उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्ने अवसर पाएकाले चलचित्रमार्फत डेब्यु गर्न तयार भएको उनले बताएका छन्।

निर्माण टिमले वर्षा सिवाकोटी अनुबन्धित भएसँगै ४ अभिनेता र ४ अभिनेत्रीका लागि अडिसन खुलाएको थियो। सोही अडिसनबाट रोशन मुख्य अभिनेताको रूपमा छनोट भएका हुन्। करिब ५०० सयबढि आवेदकबाट रोशनलाई मुख्य अभिनेताको रुपमा छनोट गरिएको निर्देशक सानेले बताए ।

निर्देशक सानेका अनुसार अहिले अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ‘अडिसनमा आएका प्रतिभामध्ये पात्रसँग मिल्ने कलाकार छनोट गरिरहेका छौं। अन्य कलाकारको नाम पनि छिट्टै सार्वजनिक गर्नेछौं,’ निर्देशक सानेले भने।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने ‘गंगा रानी’का निर्माता कमलप्रसाद शर्मा हुन्। साने स्वयंको लेखन तथा निर्देशन रहने चलचित्रको छायांकन आगामी भदौको दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ।

निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ जस्ता चलचित्रमा निर्देशन गरिसकेका छन्।

यसैबीच, आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको र सानेकै निर्देशन रहेको चलचित्र ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि प्रदर्शनको तयारीमा छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com