सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । इन्द्रजात्राको अवसर पारेर असोज ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको २ मिनेट २२ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ।
ट्रेलरमा त्रिकोणात्मक प्रेमसँगै जातीय विभेदको कथालाई प्रस्तुत गरिएको छ। प्रेम, वियोग, रोदन, हाँसो र पीडाको मिश्रण रहेको ट्रेलरले नेपाली समाजमा जरा गाडेर बसेको जातीय विभेदको यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ।
जात नमिलेकै कारण प्रेममा रहेका जोडी कसरी अलगिन बाध्य हुन्छन् र समाजमा कथित तल्लो जातका मानिसले कस्तो व्यवहार भोग्नुपर्छ भन्ने विषयलाई ट्रेलरमा देखाइएको छ। ट्रेलरले फिल्मको कथावस्तु र द्वन्द्वलाई समेत संकेत गरेको छ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्गबहादुर पुन मगर, सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा र रोहित कार्कीलगायत कलाकारको अभिनय छ। फिल्मको लेखन निर्देशक लिम्बूले गरेका हुन्।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन छ। मनोज चौलागाईंको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्मका ‘तिमीसँग नबोली’ र ‘जदौ हजुर’ गीत यसअघि नै सार्वजनिक भइसकेका छन्।






प्रतिक्रिया