सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक कथामा आधारित हलिउड फिल्म ‘तेन्जिङ’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा सन् १९५३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको कथा प्रस्तुत गरिएको छ। फिल्मको छायांकन नेपालमा समेत गरिएको छ भने नेपाली अभिनेत्री थिन्ले ल्हामो पनि यसमा शीर्ष भूमिकामा छिन्।

ट्रेलरमा विलेम डिफोले ब्रिटिस आरोहण अभियानका नेता जोन हन्ट र टम हिडल्स्टनले न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीको भूमिका निर्वाह गरेका छन्। तेन्जिङ नोर्गेको भूमिकामा गेन्डेन फुन्त्सोक देखिएका छन्।

फिल्मले सगरमाथालाई चढ्ने अभियानसँगै तेन्जिङ नोर्गेको व्यक्तिगत सपना र आध्यात्मिक आस्थालाई पनि प्रस्तुत गर्छ। फिल्मको कथाअनुसार तेन्जिङलाई उनकी पत्नी दावा (नेपाली अभिनेत्री थिन्ले ल्हामो)ले प्रोत्साहन गर्छिन्। त्यसपछि उनले अभियानकी सचिव जिल हेन्डरसन (क्याट्रिओना बाल्फ)को साथ पाउँछन्। उनीहरूले जोन हन्टलाई तेन्जिङलाई ब्रिटिस आरोहण टोलीमा केवल सहयोगीका रूपमा नभई आरोहीकै रूपमा सहभागी गराउन मनाउँछन्।

सगरमाथाको आरोहणसँगै फिल्ममा फरक पृष्ठभूमि, वर्ग र व्यक्तिगत महत्वाकांक्षाबीचको द्वन्द्वलाई पनि प्रस्तुत गरिएको छ। तर हिमालको उचाइमा पुगेपछि पद, हैसियत र व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर तेन्जिङ र हिलारीबीच विकास हुने पारस्परिक सम्मान र विश्वासलाई कथाको महत्वपूर्ण पक्ष बनाइएको छ।

फिल्मको निर्देशन अस्ट्रेलियन निर्देशक जेनिफर पिडमले गरेकी हुन्। उनले यसअघि सन् २०१५ को ‘शेर्पा’ नामक वृत्तचित्र निर्देशन गरेकी थिइन्, जुन बाफ्टा अवार्डका लागि समेत मनोनयनमा परेको थियो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com