सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी दसैँ अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ। चलचित्रको केही दृश्य अझै छायाङ्कन गर्न बाँकी छँदै निर्माण टिम र हङकङका वितरकबीच प्रदर्शन अधिकारका लागि कागजी सम्झौता भएको हो।

यस चलचित्रको हङकङ प्रदर्शन अधिकार श्री स्वर्णिम कम्युनिकेसन प्रा.लि.ले खरिद गरेको हो। चलचित्रको हङकङ राइट्स ‘सोल्ड आउट’ भएसँगै निर्माण टिम निकै उत्साहित देखिएको छ।

चलचित्रका निर्देशक चन्द्र पन्तले अन्तर्राष्ट्रिय बजार अन्तर्गत हङकङको प्रदर्शन अधिकार उल्लेख्य र महँगो रकममा बिक्री भएको जानकारी दिए। उनका अनुसार सम्झौता महँगो रकममा भएको भए पनि व्यापारिक गोपनीयताका कारण आधिकारिक अङ्क भने अहिले खुलाइएको छैन। निर्देशक पन्तले रकमबारे समयक्रममा बिस्तारै जानकारी गराउँदै लैजाने बताएका छन्।

यो चलचित्र गत वर्ष प्रदर्शनमा आएर व्यावसायिक रूपमा सफल भएको चलचित्र ‘आ बाट आमा’ को सिक्वेल हो। सोही कारण पनि यो चलचित्र प्रदर्शनमा आउनुपूर्व नै अन्तर्राष्ट्रिय बजारमा धमाधम बिक्री भइरहेको हो।

यसअघि नै चलचित्रको जापान प्रदर्शन अधिकार ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ ले खरिद गरिसकेको छ भने अमेरिका र क्यानडाको राइट्स ‘डोको फिल्म्स’ ले महँगो रकम खर्चेर आफ्नो पक्षमा पारिसकेको छ। अमेरिका, क्यानडा, जापान र हङकङजस्ता प्रमुख देशहरूमा प्रदर्शन अधिकार बेलैमा सुरक्षित हुनुले वैदेशिक बजारमा यो चलचित्रप्रति वितरक र दर्शकको उत्साह कति उच्च छ भन्ने प्रस्ट पार्छ।

आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का र दिलिप अखेडाको मुख्य भूमिका रहनेछ। निर्देशक पन्तकै लेखन र पटकथा रहेको यस चलचित्रको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।

‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ स्लोगन सहित निर्माण गरिएको यस चलचित्रले वैदेशिक रोजगारी वा अन्य बाध्यताका कारण आमा र सन्तानबीच उत्पन्न हुने दूरी, पारिवारिक संवेदना र प्रतिक्षाको मर्मस्पर्शी कथालाई समेट्ने सङ्केत निर्माण पक्षले दिएको छ।

नेपालमा यस चलचित्रको वितरण ‘आरआर फिल्म्स’ ले गर्दैछ भने डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ सँग सुरक्षित छ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com