सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सुपरहिट चलचित्र ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको नयाँ नेपाली चलचित्र ‘जलाकी’ ले प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकता जगाउन थालेको छ । निर्माण टिमले चलचित्रका दुई फरक भाव बोकेका आकर्षक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ४ गते देशभर प्रदर्शनमा आउने घोषणा गरेको हो ।
असार १५को अवसरमा सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सोनाम तोप्देन र उपासना सिंह ठकुरीलाई दुई भिन्न मनोविज्ञानमा प्रस्तुत गरिएको छ । एउटा पोस्टरले प्रेम, आत्मीयता र विश्वासको उज्यालो पक्ष चित्रण गर्छ भने अर्को पोस्टरले मौनता, पीडा र सम्बन्धभित्रको भावनात्मक संघर्षलाई उजागर गरेको छ । यी दुई पोस्टरले चलचित्र केवल एउटा प्रेमकथा मात्र नभई प्रेमका अनेक आयाम, सम्बन्धका उतारचढाव र जीवनका संवेदनशील क्षणहरूको कथा भएको संकेत गर्छन् ।
पहिलो पोस्टरमा सोनाम र उपासना एकअर्काको अंकमालमा बाँधिएर प्रेमको मधुर क्षणमा हराएका देखिन्छन् । उनीहरूको अनुहारमा झल्किएको मुस्कान, आँखामा देखिएको विश्वास र आत्मीय स्पर्शले प्रेमको सुन्दर अनुभूति दर्शाउँछ । पोस्टरले दर्शकलाई प्रेमको कोमल संसारमा प्रवेश गराउने प्रयास गरेको देखिन्छ ।
यता दोस्रो पोस्टरले भने बिल्कुलै फरक भाव प्रस्तुत गर्छ । उपासनाले सोनामको काँधमा टाउको राखेकी छन् भने सोनाम गम्भीर मुद्रामा टाढातर्फ हेरिरहेका छन् । दुवै पात्रको मौन अभिव्यक्तिमा प्रेमभित्र लुकेका पीडा, दूरी, संघर्ष र भावनात्मक द्वन्द्व झल्किएको छ । यसले चलचित्रमा प्रेमसँगै जीवनका कठिन मोड र सम्बन्धको परीक्षालाई पनि समेटिएको संकेत दिन्छ ।
पोस्टरले चलचित्रको सौन्दर्य मात्र होइन, कथाको भावनात्मक गहिराइलाई समेत प्रभावशाली रूपमा प्रस्तुत गरेका छन् । पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेका छन् ।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना, माया र पहिचानको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक अशोक थापा मगरका अनुसार चलचित्रले यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई प्रेमकथासँग जोडेर प्रस्तुत गर्नेछ । त्यसैले चलचित्र केवल रोमान्टिक कथा मात्र नभई सांस्कृतिक पहिचान र मानवीय सम्बन्धको कथा पनि हो ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनाम तोप्देन र उपासना सिंह ठकुरीसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन तथा विशेष भूमिकामा क्याप्टेन विजय लामाको अभिनय रहेको छ । बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर देखिनेछन् । यसै चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
निर्माताका रूपमा ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन् । चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टका गीत रहेका छन् । गीतमा एसडी योगी, अञ्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीताञ्जली थापा मगरले स्वर दिएका छन् ।
निर्देशक अशोक थापा मगरको पहिलो चलचित्र ‘खुस्मा’ व्यावसायिक रूपमा सफल हुनुका साथै त्यसमा समावेश ‘रुकुम मैकोट’ गीत टिकटक, फेसबुक रिल्स र युट्युबमा अत्यन्त लोकप्रिय बनेको थियो । सोही सफलताको निरन्तरतास्वरूप उनले ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् ।
गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्ने ‘जलाकी’ प्रेम, संस्कृति, पहिचान र भावनाको गहिरो कथा बोकेर मंसिर ४ गते देशभरका हलमा प्रदर्शनमा आउनेछ । पोस्टरले देखाएको प्रेमको मिठास र पीडाको गहिराइले चलचित्रप्रति दर्शकको उत्सुकता थप बढाएको छ । अब निर्माण पक्षले गीत, टिजर र ट्रेलर सार्वजनिक गर्दै प्रचारप्रसारलाई थप तीव्र बनाउने तयारी गरेको छ ।



प्रतिक्रिया