सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रु नेपाल प्रा.लिको प्रस्तुतिमा तयार भएको चलचित्र ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ ।

असोजको २ गतेबाट रिलिजमा आउन लागेको चलचित्रको सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

यो गीतको शब्द निकै नै मार्मिक छ । गीतले आमाको महिमाको बयान गरेको छ । साथै, आमाहरु बृद्धाश्रममा बस्नु परेको तितो यथार्थतालाई पनि फिल्मको यो गीतमा उठान गरिएको छ । यो गीतले चलचित्रको कथावस्तुको भाव बोकेको छ ।

यो गीतमा भिडियोमा अतिथी कलाकारहरु मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई देख्न सकिन्छ । साथमा, चलचित्रका मुख्य कलाकारहरु आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल, चैत्यदेवीलाई पनि यो गीतमा फिचरिङ गरिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।  बिष्णु घिमिरे ‘कल्पित’ को डीओपी रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ ।

गीतको छायांकनका लागि निर्माणपक्षले निकै मिहिनेत गरेको देख्न सकिन्छ । कोरियोग्राफर रामजी लामिछानेले गीतको भाव अनुसार भिडियो तयार पारेका छन् ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय छ ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन छ । चलचित्रमा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट छ ।

निर्माणपक्षले केही दिन अगाडि पोष्टर सार्वजनिक गर्दै प्रचार प्रसारलाई तिव्रता दिएको थियो । अब, चलचित्रको गीत सार्वजनिक भएपछि माहोल झनै गर्मिने अपेक्षा गरिएको छ ।

३ वर्ष अगाडि रिलिजमा आएको चलचित्र ‘झिंगे दाउ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । यसको सिक्वेलको रुपमा तयार भएको ‘झिंगे दाउ २’ले पनि असोज २ गतेबाट दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्दैछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com