सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता विशाल देवकोटा डेब्यु चलचित्र ‘लालीबजार’ बाट दर्शक माँझ परिचित बनेका छन् । उनले चलचित्रमा निर्वाह गरेको नारायणको पात्रलाई दर्शकले मन पराएका छन् । कुप्रथा विरुद्ध आवाज उठाउने, शिक्षाको महत्व बुझाउने र इमान्दार पात्रको भूमिका निर्वाह गरेका विशाल थियटर हुँदै चलचित्रमा आएका हुन् । आज आफ्नो जन्मोत्सव मनाइरहेका विशाल नेपालको रंगमञ्चमा अभिनेतासँगै निर्देशकको रुपमा परिचित थिए ।
चलचित्र ‘लालीबजार’ मा उनी अडिसनमार्फत छनोट भएका थिएँ । उनको अभिनय कौशलताकै कारण डेब्यु चलचित्रमै स्वस्तिमाको जोडी बन्ने अवसर प्राप्त गरेको निर्माण कम्पनि षट्कोण आर्टसले जनाएको छ ।
सानैदेखि कलाकार बन्ने सपना बोकेका विशाल नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए । रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका देवकोटाले त्यसैको निरन्तरतास्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् ।
‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ । यसपटकको जन्मोत्सव खास नै रह्यो, सोमबार मात्र मैले डेब्यु चलचित्रको ५१ औँ दिनलाई सेलिब्रेट गर्न पाएँ, आज मंगलवार जन्मदिन पर्यो । यहाँबाट मेरो नयाँ यात्रा प्रारम्भ भएको महसुस मैले गरेको छु’, उनले भने ।
उनले आफ्नो उमेर नखुलाएता पनि आफू उमेरका हिसाबले परिपक्क भएको बताए । उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै चलचित्र ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ खिचिएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी चलचित्रमा छनोट भएका थिए । यसरी रंगमञ्चको अनुभवले उनलाईचलचित्रमा प्रवेश गर्ने ढोका खोलेको उनले बताएका छन् ।
उनले भने, ‘मैंले लास्ट टाइम कान्तिपुर थिएटरमा एउटा प्ले गरेको थिएँ ‘मिरा’मा । त्यो प्ले हेर्न प्रदिप भट्टराई सर, रबिन दाई अनि जेवी दाई आउनुभएको थियो । उहाँहरुले हेरिसकेपछि एकचोटि अप्सनका लागि भनेर अफिसमा बोलाएर अडिसनको सिलसिलाहरु सुरु भएको थियो । थियटरमा सङ्घर्ष गरिहँदा अहिले मेहनत फल पाउने यात्रामा रहेको अनुभुती भएको छ ।’
उनी अब चलचित्रकै काममा व्यस्त हुँदैछन् । ‘लालीबजार’ को सफलताले उनको कामलाई दर्शकसँगै चलचित्र मेकरसम्म पनि पुर्याएको छ । उनलाई विभिन्न चलचित्रबाट अभिनयको प्रस्ताव समेत आउन थालेको छ । ‘प्रस्तावहरू आइरहेका छन्, केही मेकरसँग कुराकानी पनि भएको छ । यद्यपि के गर्ने भन्ने निर्णय गरिसकेको छैन, अहिलेसम्म पहिलो चलचित्रकै काममा थिएँ । अब आगामी चलचित्रको तयारीमा जुट्ने छु’, उनले भने ।
चितवनबाट झन्डै ९ वर्ष अगाडि काठमाडौँ आएका विशालले पहिलो फिल्मबाट दर्शकको अपार माया पाए । दर्शक भेटघाट गर्न मोफसल टुरमा समेत पुगेका विशाललाई अधिकाँस दर्शकले ‘छोरा होस् त नारायण जस्तो’ भन्दै प्रतिक्रिया दिएका थिए । उनी दर्शक माँझ कमाएको विश्वासलाई आगामी प्रोजेक्टमा बढाउने किसिमले प्रयोग गर्न चाहन्छन् ।



प्रतिक्रिया