सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘रोल नं १’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । जेठ १५ गतेबाट प्रदर्शन आएको चलचित्र आज ५१औँ दिनमा प्रवेश गरेको हो ।

यो सिनेमाले आधा दर्जन भन्दा बढी हलमा ५१औँ दिन मनाएको छ । निर्माणपक्षका अनुसार कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स, बनेपास्थित शुभकामना सिनेमा, धनगढीस्थित एसटीएस इन्टरटेन्मेन्ट, इटहरीस्थित इलाइट सिनेमा, कावासोतीस्थित कावासोती सिनेमा, विराटचोकस्थित विराट सिनेमा र इलामस्थित फ्रेन्ड्स सिनेमा हलहरुमा ५१औँ दिन मनाउन सफल भएको छ ।

यो चलचित्रले गत आइतबारसम्म १ करोड ७७ लाख रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ ।

अहिले यो चलचित्र दर्शकले आधा मूल्यमै हेरिरहेका छन् । असारको पहिलो सातादेखि निर्माणपक्षले ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गरिरहेको छ ।

विद्यार्थी र अभिभावकले चलचित्रको टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले बताएका थिए ।

शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब, अभिभावकको संघर्ष र जीवनका यथार्थ कथा चलचित्र ‘रोल नं. १’ले उठाएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन गरेका छन् ।

चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।शिवराम श्रेष्ठ डीओपी रहेको यो सिनेमामा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com