सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली चलचित्र ‘कमला मिस’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड ) बाट ‘युनिभर्सल (यू)’ प्रमाणपत्र प्राप्त गरेको छ।
युनिभर्सल प्रमाणपत्र प्राप्त गरेसँगै अब चलचित्र सबै उमेर समूहका दर्शकले कुनै प्रतिबन्धबिना हेर्न सक्नेछन्। निर्माण पक्षले सेन्सर प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै चलचित्र प्रदर्शनका लागि पूर्ण रूपमा तयार भएको जनाएको छ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित चलचित्र ‘कमला मिस’ आगामी साउन २२ गते (अगस्ट ७)देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रमा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन्।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, युग भुसालको संगीत , किरण तुलाधरको पृष्ठभूमि संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।





प्रतिक्रिया