सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली चलचित्र ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ । शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौँमा कार्यक्रम आयोजना गर्दै चलचित्रको घोषणा गरेको हो । कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमाको निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।
यूके बस्दै आएका सञ्जय लामो समयदेखि चलचित्र मेकिङ र निर्देशनप्रति रुचि राख्दै आएका थिए । यूके बसाइँका क्रममा पनि चलचित्र निर्माणप्रतिको आफ्नो प्यासनलाई निरन्तरता दिँदै आएका राईको यो पहिलो निर्देशन यात्रा हो।
मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहने भएकी छन् । उनी चलचित्रमा ‘आश’ पात्रको भूमिका देखिनेछिन् । निर्माण टिमले उनको बोल्ड लुक्ससहितको तस्बिर सार्वजनिक गर्दै उनको पात्रबारे जानकारी दिएको छ ।
केही समयको अन्तरालपछि नयाँ चलचित्रमा जोडिएकी साम्राज्ञीले आफूलाई मन पर्ने क्यारेक्टर नपाएकाले चलचित्रमा ग्याप देखिएको बताउँदै यस चलचित्रमा भने आफ्नो पात्र मन परेकाले काम गर्न तयार भएको बताइन् । आफ्नो भूमिका साहसिक, बोल्ड, निडर र फरक किसिमको रहेको बताउँदै सिनेमालाई लिएर निकै उत्साहित रहेको जानकारी दिइन् ।

‘म यो चलचित्र र सिनेमाको टिमसँग जोडिन पाउँदा निकै खुसी छु । मलाई चलचित्रको क्यारेक्टर मन पर्यो, त्यसैले काम गर्न राजी भएकी हुँ’, उनले भनिन्, ‘सुरुमा केही आनाकानी गरिरहेको थिएँ, तर निर्देशकले चलचित्रको क्यारेक्टरबारे बताएपछि मेरो सोच परिवर्तन भयो ।’
उनले निर्देशकले आफ्नो सोचअनुसार नै उक्त पात्रलाई विकास गर्न खोजेको बताइन् । ‘उहाँले मेरो भिजनसँग मिल्ने गरी त्यो क्यारेक्टरमार्फत चलचित्र बनाउने सोच्नुभएको रहेछ । मैले स्क्रिप्ट पढेँ, म त छक्क परेँ । मेरो क्यारेक्टर धेरै साहसिक, बोल्ड, निडर र फरक किसिमको छ,’ आफ्नो पात्रबारे साम्राज्ञीले भनिन् ।
चलचित्रको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ । जित, हार र सफलताको यात्रालाई केन्द्रमा राख्ने भाव बोकेको यो स्लोगनले सिनेमाको कथावस्तुको संकेत गर्छ । डेब्यु निर्देशक सञ्जयले सिनेमा युवापुस्ताको कथामा आधारित रहेको बताए । उनका अनुसार यो अहिलेको सामाजिक सञ्जालको पुस्ता, प्रेम, सम्बन्ध र जीवनका उतारचढावमा केन्द्रित रहनेछ ।
‘इट्स अ भेरी योङ फन मुभी । हामीले अहिलेको उमेर समूहलाई केन्द्रित गरेर चलचित्र बनाउँदैछौँ । हामीले जसरी मायालाई एक्सप्लोर गर्छौँ, त्यही भाव चलचित्रमा छ । यो दुई साथीको कथा हो । चलचित्रमा उनीहरू हुर्किंदै जाँदा जीवनमा आउने ट्विस्ट एन्ड टर्न र समाज तथा परिवारको अपेक्षालाई कसरी सामना गर्छन् भन्ने कुरा सिनेमामा देखाइनेछ,’ निर्देशक राईले भने ।

चलचित्रमा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन् । नरेन्द्र मैनालीले छायांकन गर्ने सिनेमामा संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ । चलचित्रको छायांकन आगामी फागुनबाट सुरु हुनेछ ।
चलचित्र घोषणा कार्यक्रममा चलचित्रकी कार्यकारी निर्माता सुदीप्ताले ‘एक्का मिस्सी बादशाह’ आफ्नो लागि विशेष परियोजना भएको बताइन् । कार्यकारी निर्माताको रूपमा चलचित्र क्षेत्रमा नयाँ यात्रा सुरु गर्न लागेको उल्लेख गर्दै उनले भनिन्, ‘यो मेरो लागि नयाँ भूमिका हो । कार्यकारी निर्माताको रूपमा चलचित्र इन्डस्ट्रीमा आइरहेकी छु । त्यसैले यो मेरो लागि धेरै स्पेशल छ ।’
निर्माण पक्षका अनुसार चलचित्रका लागि ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रको खोजी भइरहेको छ । डेब्यु निर्देशक राईका अनुसार यी भूमिकाका लागि अडिसन खुला गरिएको छ । चलचित्रमा अन्य कलाकारसहित थप विवरण आगामी दिनमा सार्वजनिक गर्ने निर्माण पक्षले बताएको छ ।





प्रतिक्रिया